विराटनगर । चाडपर्व नजिकिएसँगै बजारमा उपभोग्य सामग्रीहरूको मूल्यवृद्धि भएको भन्दै सरोकारवाला निकायहरूले नियामक निकायले प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् ।
उनीहरूले चाडपर्वमा मात्र नभएर गुणस्तरीय खाद्यवस्तुको उपभोग गर्नका लागि बजार अनुगमन भइरहनुपर्ने सरोकारवालाहरूले बताएका हुन् । जिल्ला प्रशासन कार्यालय मोरङ र भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था मोरङको संयुक्त आयोजनामा विराटनगरमा आइतबार भएको आगामी चाडपर्व, उपभोक्ता र बजार व्यवस्थापन विषय छलफल कार्यक्रममा सहभागीहरूले बजारमा गुणस्तरहीन उपभोग्य वस्तु भेटिन थालेको भन्दै नियमक निकायले अनुगमन गरी त्यस्ता सामग्री नष्ट गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मन्च विराटनगरका अध्यक्ष विनोद सुवेदीले अनुगमनको नाममा सेवाप्रदायक निकायले झारा टार्ने मात्र काम गरेको बताए । ‘अहिले बजारमा तेललगायत उपभोग्य वस्तुको भाउ महंगिएको छ । अहिलेसम्म बजार अनुगमन गर्ने विषयमा नियामक निकायले ध्यान दिएको छैन,’ उनले भने, ‘बजार अनुगमन चाडपर्व लक्षित मात्र गरेर हुँदैन । अन्य बेला पनि अनुगमन गरिनुपर्दछ ।’ अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय इटहरीका प्रमुख बावुराम खतिवडाले सुशासन कायम गराउन सबै लाग्नुपर्नेमा जोड दिए । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सबैको साथ सहयोग र सुझाव संकलन गर्दै गुणस्तरीय खाद्यवस्तुको उपभोग गर्नका लागि बजार अनुगमनलाई प्रभावकारी बनाइने बताए ।

