विराटनगर । ३८ क्विन्टल सुन तस्करी तथा मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण मुद्दाको अन्तिम सुनुवाईमा वादीको तर्फबाट सरकारी वकिलले बहस सकेका छन् । मोरङ जिल्ला अदालतमा सरकारी कानुन व्यवसायीहरूले बहस सकेपछि सोमबारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस सुरू गरेका छन् ।

वादीतर्फको बहस सकेर अब प्रतिवादीतर्फको बहस सुरु भएको मोरङ अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए । उनका अनुसार प्रतिवादीको पक्षमा हुने प्रतिरक्षा बहस सकिएपछि अदालतले मुद्दाको फैसला गर्नेछ । प्रतिवादीतर्फबाट बहस गर्न ठूलो संख्यामा कानुन व्यवसायीहरुले वकालतनामा भरेकोले बहस सकिन कम्तीमा एक साता लाग्ने अनुमान गरिएको छ ।

सुन मुद्दाको फैसला दशै अगाडि नै हुनसक्ने अनुमान गरिएको छ । प्रतिवादीका पक्षमा बहस गर्न ८० जनाभन्दा बढी कानुन व्यवसायीले वकालातनामा दर्ता गराएको सूचना अधिकारी धमलाले बताए । मंगलबार प्रतिवादीमध्येका पूर्वडीआईजी निरौलाका वकिलको बहस सकिएको छ । उनले दुई जना कानुन व्यवसायी राखेका थिए । पूर्वडीआईजी निरौला भने यसअघि नै उच्च अदालत विराटनगरको आदेशबाट छुटिसकेका छन् ।

फैसलाको चरणमा रहेको मुद्दाको अन्तिम सुनुवाइ आइतबारबाट सुरु भएको थियो । दुई दिन लगाएर सरकारी वकिलले बहस सकेको मोरङ अदालतले जनाएको छ । मुद्दामा वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसाल, सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्ले र मोरङका सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबु पोखरेलले बहस गरे । यो मुद्दामा उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी छन् ।

जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चार वटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते मुद्दा दायर गरेको थियो । मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४०० रूपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ ।

सुरुमा मुद्दा दर्ता गर्दा ६३ जना मात्रै प्रतिवादी थिए । तीन पटकसम्म पूरक अभियोग दर्ता गर्दा प्रतिवादी ७७ पुगेका हुन् । प्रतिवादीमध्ये ५५ जना पक्राउ परेकोमा २२ जना अझैसम्म फरार छन् । तस्करी गरेर दुवईबाट ल्याएको साढे ३३ किलो सुन गायब बनाएको आरोपमा गोरेको समूहले करेन्ट लगाएर यातना दिँदै २०७४ साल फागुन १८ गते उर्लाबारी नगरपालिका–१ मा सनमको हत्या गरेको थियो । त्यही हत्याको अनुसन्धान थाल्दा विदेशबाट नेपालतिर हुने सुन तस्करीको बारेमा खुलेको थियो ।