गोकुल पराजुली
कुनै दिन एउटा लोककथा यस्तो पनि बन्नेछ । एकदिन झुट आफ्नो बाटो जाँदै थियो । त्यही बाटो पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आउँदै रहेछन् । जब झुट र ओलीको जम्काभेट भयो, झुटले शिर निहुर्याएर भन्यो ‘मेरो अग्रज हजुर हो, आशीर्वाद पाउँ ।’ त्यसपछि झुटले ओलीलाई बाटो छाडिदिएछ ।
अब यो लोककथाको रचना गर्भतिर प्रवेश गरौं ।
एक वर्ष अघि आयुर्वेद विद्याका कविराजको भूमिकामा खरो उत्रिएका थिए । कोरोना भाइरस केही होइन हाच्छ्युँ गरेर भगाउन सकिन्छ भनेर उनले थुुप्रैपटक भाषण गरे । बेसार पानी खाएपछि यस्ता कोरोनाले केही बिगार्न सक्दैन भनेर पनि भने । अरु थुप्रै घरेलु जडिबुटीहरुको चर्चा उनले गरे तर उनको विद्याले कोरोना थामिएन बरु १० हजार भन्दा धेरैले ज्यान गुमाए । उनले आधुनिक चिकित्साशास्त्रलाई चुनौती दिनेगरी पटक–पटक अभिव्यक्ति दिए । अर्थात् उनी आधुनिक विज्ञान र विकासको बर्खिलाप उत्रिए । सबैलाई बोलीकै बसमा राख्न सक्छु भन्ने दम्भले उनले आफूलाई सर्वज्ञानीको रुपमा उभ्याउने कोसिस गरे ।
हाम्रो समाजमा चाहिनेभन्दा धेरै जान्नेसुन्ने हुन खोज्नेलाई छोटकरीमा ‘अजासु’ भनेर व्यङ्ग्य गरिन्छ । केपी ओली त्यस्तै अजासु व्यक्ति हुन्, जसले भगवान रामको जन्मस्थान अयोध्या हैन अयोध्यापुरी हो भनेर भनिदिए । हिन्दु धर्म मान्ने करोडौंले बुझेको, सुनेको वा धार्मिकशास्त्रहरुमा ब्याख्या भएको अयोध्या नेपालको भूमिमा थिएन र छैन । तर, ओलीले चितवनको अयोध्यापुरीलाई रामको जन्मस्थान हो भनेर जिद्दी गरे । बलियो तर्कको रुपमा उनले भने ‘भारतको अयोध्याबाट त्यतिबेला जनकपुर आउन सम्भवै थिएन, त्यसैले चितवनबाट सीतालाई लिन जन्ती गएका थिए ।’ यसका बारेमा उनले बालुवाटारबाट थुप्रै प्रवचन दिए । धर्मशास्त्रका उल्टोपाल्टो कयौं व्याख्या गरे । यसमा उनी व्यासासनमा बसेर पुराण भन्ने वाचकको भूमिकामा देखापरे ।
नेपाली भू–उपग्रह, पानीजहाज, रेल, सुरुङमार्गका कुरा त एउटा प्रधानमन्त्रीले गर्नु स्वभाविकै थियो । उनका अगाडि त्यसका विज्ञहरु निरीह हुनुपथ्र्यो वा मौन बसेर फर्किनु पथ्र्यो । उनी एकोहोरो यी सबै विषयमा छोटोमा पनि दुई तीन घण्टाको प्रवचन दिन्थे र कार्यक्रम समापन गर्थे । विज्ञको सुझाव सुन्नु उनको शब्दकोषमा नलेखिएको कुरा थियो । किनभने उनी अजासु व्यक्ति थिए । अंग्रेजीमा भन्ने हो भने उनी ‘मिस्टर नो अल’ भनिन चाहन्थे ।
केही दिनयता उनै केपी ओली नयाँ भूमिकामा देखापरेका छन् । उनको नयाँ अवतार भविष्यवेत्ताको रुपमा देखिएको हो । उनले आउँदो चुनावमा कसले जित्छ र कसले हार्छ भनेर भविष्यवाणी गर्दै हिड्न थालेका छन् । अर्थात उनले ज्योतिषको भूमिकामा आफूलाई परिचित गराउन चाहिरहेको देखिन्छ । हुनत उनी धुरन्धर ज्योतिषका छोरा हुन् । बाबुको ज्ञानको प्रभाव उनमा नपरेको होला भन्न सकिँदैन । त्यसैले पनि होला उनी कसले चुनाव जित्छ र कसले हार्छ, कसले वडा सदस्यमाा हार्छ अनि कसले वडाध्यक्षसम्म जित्छ भनेर प्रवचन दिइरहेका छन् । भर्खरै उनले भने माधव नेपालको पार्टीले देशभर कहीँ चुनाव जित्दैन, माधव नेपालले त वडासदस्य पनि जित्दैनन् । उनले त्यति मात्र भनेका छैनन् प्रचण्डको पार्टीले देशभर एउटा वडाध्यक्ष पनि जित्ने हैसियत राख्दैन भन्ने घोषणा गरिसके । कस्तो गज्जवको कुरा ! उनी ड्याङ्गड्याङ्ग निर्णय सुनाउदै हिँडिरहेकन छन् । भविष्यवाणी गर्दै हिँडिरहेका छन् । उनलाई लागेको छ कि यो देशमा त्यसले मात्र जित्छ जसले ‘मिस्टर नो अल’लाई पछ्याउँछ । जो ओलीको भक्त हुन्छ उसले मात्र जित्ने हक राख्छ । जो दुनियाँलाई तिरस्कार गर्न, लल्कार्न, अपमान गर्न, हेप्न र खिसिट्यूरी गर्न सक्छ उसले मात्र जित्नु पर्छ, यो केपी ओलीद्वारा विकसित सिद्धान्त हो ।
केही वर्षअघिदेखि केपी शर्मा ओलीले भनेका कुराहरुलाई स्मरण गर्ने हो भने उनले नेपाली जनताका सामुन्ने कति झुट बोलेका रहेछन् भन्ने स्पष्ट हुन्छ । घरघरमा ग्यासपाइप पु¥याउँछु भनेर उनले पहिलोपटक प्रधानमन्त्री हुँदा बोलेका हैनन् ? अनि ओलीलाई किन झुट बोल्यौ भनेर प्रश्न गर्ने कि नगर्ने ? तपाईँ हामी स्मरण गरौं त यस्ता झुट उनले हाम्रा अगाडि कति बोलेका छन् । अनि उनले चुनाव जित्ने अरुले हार्ने कसरी हुन्छ ? हरेक दिन झुटको खेती गर्ने र जनतालाई भ्रममा राख्नेले जित्ने बाँकीले हार्ने उनको कस्तो ज्योतिष विद्या हो ?
नेकपा एमालेका अध्यक्ष ओली जसले दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरे , झण्डै दुई तिहाई बहुमतको पार्टीको अध्यक्ष भए , उनले आफू प्रधानमन्त्री भएको बेला जनताको पक्षमा त्यस्तो के नीति ल्याए जसले गर्दा नेपाली जनताले उनलाई जिताइदिनु पर्ने हो ? उनले गरिब मजदुरको पक्षमा के परिवर्तन गरे ? राष्ट्रिय उत्पादन बढाउन उनले के योगदान गरे ? उनको शासनकालभरी नेपाली किसानले रसायनिक मलको न्यूनतम मात्रा खेतमा छर्न पाए ? किसानको उत्पादनले बजार र उचित मूल्य पायो ? विद्यार्थीले सुलभ शिक्षा र जनताले सस्तोमा उपचार सेवा पाए ? पाएनन् । अनि उनले जित्ने, दुई तिहाई नै ल्याउने अरुले वडा सदस्य नै हार्ने भविष्यवाणी गर्दा लाज पनि लजाउँदैन र ? बरु उनले एउटा कुरा राम्ररी बुझ्न जरुरी छ कि जसले सरासर हार्ने सपना उनले देखिरहेका छन् त्यो कतै उनीतिरै फर्किने त होइन ? केपी ओली मिस्टर नो अल त होलान् तर समाजमा उनीभन्दा जान्ने बुझ्ने र विवेक भएका मानिस पनि छन् भन्ने हेक्का राख्नुपर्छ । र, हेक्का राख्नुपर्छ कि केपी शर्मा ओली तिनै व्यक्ति हुन् जो २०६४ सालमा आफ्नै गृहजिल्लाबाट एउटा मामुली उम्मेद्वारसँग सर्मनाक हारेर लुरुलुरु काठमाडौ फर्किनु परेको थियो । कहिलेकाँही जनताको फैसला निर्मम हुन्छ जुन ओलीले व्यहोरिसकेकै छन् । पछिल्लो व्यवहारले फेरी पनि त्यो इतिहास नदोहोरियोस् ।
Correct