लोड हुँदैछ...

मेनु

राष्ट्रिय जनगणना सुरु, ४० लाख जनसंख्या थपिएको अनुमान

राष्ट्रिय जनगणना सुरु, ४० लाख जनसंख्या थपिएको अनुमान

विराटनगर । प्रत्येक १० वर्षमा हुँदै आएको जनगणना यो वर्ष हुँदैछ ।

केन्द्रीय तथ्याङ्क विभागले यसपटक जनसंख्या तीन करोड पाँच लाखको हाराहारीमा पुग्ने अनुमान गरेको छ।
मृत्यु दरभन्दा जन्मदर बढी भएकाले १० वर्षको अवधिमा नेपालको जनसंख्या ४० लाख बढेर तीन करोड पाँच लाख पुग्ने अनुमान विभागले गरेको हो।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या दुई करोड ६५ लाख थियो।

तथ्यांक विभागका कम्युटर अधिकृत डोल नारायण श्रेष्ठका अनुसार सोही प्रक्षेपणलाई आधार मानेर बुधबारबाट राष्ट्रिय जनगणना सुरु भएको छ।

‘२०६८ को जनगणनामा देखिएको जन्मदर र मृत्युदर कायमै रहेको विभागको बुझाइ छ’, श्रेष्ठले भने, ‘उक्त जन्मदर र मृत्युदर कायम रहेमा नेपालको जनसंख्या अब ४० लाख बढेर तीन करोड पाँच लाख हाराहारीमा पुग्ने देखिन्छ।’

१२ औँ राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत बुधबारदेखि घर तथा घरपरिवार सूचीकरण सुरु भएको हो ।

यसअघि गत २५ जेठदेखि जनगणना गर्ने कार्यक्रम तय गरिएकोमा कोरोना महामारीका कारण जनगणना स्थगित गरिएको थियो।

साढे तीन महिना धकेलिएको यो कार्यक्रम ‘मेरो जनगणना, मेरो सहभागिता’ भन्ने नारासहित देशभर जनसंख्या संकलन सुरु भएको छ।

हाल कोरोनाको संक्रमण दर घट्दै गएको, लकडाउनको अवस्था नरहेको र जनजीवन सामान्य बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सूचीकरण अभियान सुरु गरेको हो। राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको नयाँ तालिका अनुसार ३० भदौदेखि १८ असोज अर्थात् २० दिनसम्म घर तथा घरपरिवार सूचीकरणको काम हुनेछ।

२७ र २८ भदौमा तालिम प्राप्त आठ हजार पाँच सय सुपरीवेक्षक सूचीकरणमा खटिएका छन्। सुपरीवेक्षकहरू देशभरका करिब ७० हजार घर परिवारमा पुग्नेछन्। सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या विवरणमा भरिनेछ।

व्यक्तिगत घरको प्रकार, घरको संख्या, तला र घरको प्रयोजन खुलाइनुका साथै प्रत्येक घर परिवारले पालेका पशु र पन्छीको संख्या, जग्गाजमिन, सम्पत्ति विवरण, बैंक खाता लगायतका विवरण भरिनेछ। सुपरीवेक्षकहरूले घर तथा घरपरिवारमा गएर छ वटा विवरण लिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ।

जसअन्तर्गत घर तथा घरपरिवार सूचीकरण फारम, मोबाइल एपमा दैनिक कामको विवरण, कृषि उतार फारम, घरपरिवार उतार सूचीकरण फारम, सामुदायिक प्रश्नावली र गणकको अनुगमन गर्नेलगायत रहेको विभागका कम्पयुटर अधिकृत श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।