लोड हुँदैछ...

मेनु

के ‘टिकटक’ अश्लील पर्याय बुझाउने सामाजिक सञ्जाल हो ?

के ‘टिकटक’ अश्लील पर्याय बुझाउने सामाजिक सञ्जाल हो ?

१९ जेठ २०७७ देखि भारत सरकारले धेरैले रूचाएको सामाजिक सञ्जाल ‘टिकटक’ एप बन्द ग¥यो । भारत सरकारले टिकटक बन्द गर्नुको कारणहरू मध्ये मुख्य कारण थियो, यसले फैलाउँदै गएको अश्लील (लाजभाँड बुझाउने) शब्द, व्यवहार र गतिविधि ।

सन् २०१६ मा चीनमा डौयिन नामबाट प्रयोगमा आएको सामाजिक सञ्जाल टिकटक हाल विश्वका १५४ देशमा ७५ भाषामा उपलब्ध छ । निश्चय नै सामाजिक सञ्जालको विकास सरल, सहज र द्रूत गतिमा सूचना आदानप्रदान गर्ने उद्देश्यले बनाइएको हुन्छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग सकारात्मकभन्दा नकारात्मक रूपमा बढी भएको प्रयोग भएको भारतीय समाचार संस्था बिजनेस डट इनले एसियासहित विश्वमा गरेको रिसर्चमा उल्लेख छ । सन् २०१७ मा चीनबाहेक विश्वका मानिसलाई प्रयोग गर्न मिल्ने गरी चाइनीज टेक कम्पनी वाइट डान्सले टिकटक लञ्च ग¥यो । जसको प्रभाव विश्वका १५४ देशमा अहिले प्रमुख रूपमा रहेको छ । सन् २०१७ मा टिकटकसँग मिल्दोजुल्दो एप म्युजिकल्ली प्रयोगमा आयो । म्युजिकल्ली आएको एक वर्षभित्रमा टिकटकले म्युजिकल्लीलाई किनेर टिकटकका रूपमा रूपान्तरण ग¥यो ।
विश्वका धेरै देशमा टिकटकको विषयलाई लिएर राष्ट्रिय रूपमा चर्चा हुने गरेको छ । सन् २०२० जुलाई १ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकले अमेरिकी जनताको गोप्य सूचनाहरू चीन सरकारलाई दिने गरेको भनेपछि यसले विश्वमा सूचनाको गोप्यताका विषयमा विभिन्न बहसहरू सतहमा ल्यायो ।

नेपालमा पछिल्लो दिनमा सामाजिक सञ्जाल फेसबुकमा भन्दा टिकटकमा बढी प्रयोगकर्ता झुम्मिएको एउटा रिपोर्टले देखाएको छ । अझ भन्नुपर्दा भारत सरकारले जसरी अश्लील कुराहरूलाई आम मानिस र विशेषगरी बालबालिकामा सामान्यीकरण गर्न टिकटकले विशेष भूमिका खेलेको भन्दै बन्द ग¥यो । सो कुरा वर्तमान समयमा नेपालमा समेत लागू हुन थालेको छ । हालका दिनमा एकाध नेपाली टिकटक युजरबाहेकले भाइरल हुनकै लागि अश्लील कुरालाई प्राथमिकतामा राखी टिकटकमा भिडियो र अन्य सामग्री अपलोड गर्ने देखिएको छ । एउटा रिपोर्टका अनुसार नेपालमा २०७६ चैत ११ गतेदेखिको देशव्यापी लकडाउनपश्चात अधिकांश नेपाली टिकटक युजरले आफ्नो पोष्टमा कोभिड–१९ को सचेतना, भौतिक दूरी र स्वास्थ्यसँग जोडिएका विषयहरूमा सामग्री अपलोड गर्ने गरेका थिए । जसका कारण टिकटकले कोभिड–१९ विरूद्धको प्रतिकार्यमा महत्वपूर्ण भूमिका खेलेको थियो ।

तर पछिल्लो समय युवापुस्तामा टिकटक लाजभाँड बुझाउने र अरूलाई गिराउने, होच्याउने र तुच्छ देखाउँने सबैभन्दा सजिलो माध्यम भएको छ । हालका दिनमा नेपाली टिकटक युजरमा अश्लील कुराकानी र क्याप्सनका नाममा मनलाग्दी फोहोरी कुराकानी लेखेर पोष्ट गर्ने टेन्ड्र नै चलेको छ । जसकारण टिकटक दिनप्रतिदिन दुषित हुँदै गएको छ । रीस उठेको व्यक्ति वा समूहलाई स्क्रिनमा कमेन्टको नाममा ल्याएर तथानाम गाली गर्ने र सकेजति अश्लील कुरा भन्ने माध्यम पछिल्ला दिनमा नेपाली टिकटक युजरमा बढेको छ । जसकारण बालबालिका सबैभन्दा प्रभावित हुन थालेका छन् । लकडाउनका कारण विद्यालयहरू बन्द छन् । अभिभावकले अनलाइन क्लासका लागि मोबाइल, ट्याब र कम्प्युटर किनिदिएका छन् । जसले गर्दा धेरै बालबालिकाको सहज पहुँच सामाजिक सञ्जालहरूमा पुगेको छ । आजका दिनमा टिकटक परिवारसँगै बसेर हेर्ने मिल्ने हुँदैनन् । अझ् भनौँ सार्वजनिक रूपमा हेर्न मिल्नेगरीका टिकटक कमै नेपाली युजरले बनाउने गरेका छन् । अब प्रश्न उठ्छ, टिकटकले बाल मस्तिष्कमा साँच्चिकै सकारात्मक सन्देश दिएको छ ? टिकटक परिवारसँग वा सार्वजनिक रूपमा हेर्न मिल्ने गरिका हुन्छन् ? के टिकटकले नेपाली समाजमा अश्लील कुरालाई वर्जित ग¥यो वा खुल्ला ग¥यो ? यदि खुल्ला गरेको भए यसको फाइदा के ?

एउटा रिसर्चका अनुसार प्रत्येक टिकटक युजरले औसतमा दिनमा आठ पटक टिकटक एप आफ्नो डिभाइसमा खोल्छ । जसमा ८३ प्रतिशत युजरले दैनिक एउटा न एउटा भिडियो टिकटकमा पोष्ट गर्छन् । पोष्ट गरिएका सामग्रीमध्ये अधिकांश सामग्री सामाजिक सद्भाव बिथोल्ने किसिमका छन् । नेपालमा प्रिज्मा–प्रिन्सी, श्रोया जोशी, ओहिदुर शेख, दीपा–दमन्ता, ट्वीन एल्बु, आशा अधिकारी, प्रिस्मा खतिवडा, विनोद भायन्स, आशा होप र रेश्मा घिमिरे अत्यधिक रूचाइएका टिकटक प्रयोगकर्ता हुन् । टिकटकमा छिट्टै भाइरल हुने आशामा वर्जित गतिविधिहरू विशेषगरी किशोरीकिशोरी र अधबैँसेहरूले पछिल्ला दिनमा अपलोड गर्ने गरेका छन् । जसका कारण टिकटक सफा हुनुभन्दा फोहोर बढी भएको छ । यसर्थमा भन्दा के हामीमाँझ टिकटक अश्लील पर्याय बुझाउने सामाजिक सञ्जाल हो ?

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।