प्रदेश १ मा नयाँ सरकारका लागि गृहकार्य सुरु, मुख्यमन्त्री नियुक्ति बदरको माग

विराटनगर । सत्तारूढ एमालेका १० जना सांसदले एकीकृत समाजवादी दल रोजेलगत्तै प्रदेश १ मा बहुमत कायम गरेको विपक्षी गठबन्धनले नयाँ सरकार गठनबारे तयारी थालेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक मञ्च सम्मिलित प्रदेशको विपक्षी गठबन्धनले आगामी रणनीति तय गर्न औपचारिक रुपमा छलफल थालेका हुन् । यहीक्रममा बिहीबार विराटनगरमा गठबन्धनले बैठक गरेर भावी रणनीतिबारे छलफल गरेका छन् ।

गठबन्धनको बैठकले मुख्यमन्त्री भीम आचार्यको नियुक्ति असंवैधानिक रुपमा भएको आरोप लगाउँदै प्रदेश प्रमुखलाई निर्णय सच्याउन माग गरेका छन् । त्यसका लागि मुख्यमन्त्रीको नियुक्ति बदर गर्नुपर्ने उनीहरुको माग छ ।

बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादी पार्टी सम्मिलित गठबन्धनले मुख्यमन्त्रीको नियुक्ति बदर गर्न र अल्पमतमा परेको सरकारले महत््वपूर्ण निर्णय नगर्न माग गरेको हो । विज्ञप्तिमा काँग्रेस संसदीय दलका नेता राजीव कोइराला, माओवादी केन्द्रका इन्द्र आङ्बो, एकीकृत समाजवादीका राजेन्द्र राई र जसपाका जयराम यादवको हस्ताक्षर छ । संघीय लोकतान्त्रिक मञ्चकी विष्णुमाया तुम्बाहाम्फे काठमाडौंमा रहेका कारण बैठकमा सहभागी हुन नपाएको गठबन्धनले जनाएको छ ।

एमाले विभाजन भैसकेको र निर्वाचन आयोगले सांसदलाई दल रोज्न २१ दिने समय दिइसकेको बेला बहुमत छ भन्दै त्यसको परीक्षण नै नगरी मुख्यमन्त्री नियुक्ति गर्ने काम संवैधानिक रुपले त्रुटिपूर्ण रहेको गठबन्धनको ठहर छ ।

एमाले विभाजनताका प्रदेशका पाँच जना सांसदहरू समाजवादी दलमा खुलेकै बेला बहु्मत परीक्षण नगरी नियुक्ति गर्ने काम प्रदेश प्रमुखबाट भएको गठबन्धनको ठहर छ । शेरधन राईले राजीनामा दिने घोषणा गर्दै भीम आचार्यलाई भदौ १० मा मुख्यमन्त्री नियुक्त गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले हतारहतार सपथ गराएका थिए ।

गठबन्धन दलका नेताहरूले समाजवादी दलका सांसदले निर्वाचन आयोगबाट प्रमाणपत्र पाएपछि प्रदेश प्रमुखलाई पनि ज्ञापन पत्र दिने जनाएका छन् । गठबन्धनलाई थप एकताबद्ध बनाउने पनि बैठकले निर्णय गरेको छ । एमालेले काँग्रेससँग मिलेर सरकार बनाउने हल्ला चलाएको भन्दै गठबन्धनका नेताहरुले त्यस्तो हल्लामा कुनै सत्यता नभएको बताए ।

बुधबार १० सांसदले नेकपा समाजवादी रोज्दै सनाखत गरेपछि एमाले नेता भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेशसभामा अहिले नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् । राप्रपाकी इन्दिरा राईबाहेक सबै विपक्षी गठबन्धनमा आबद्ध रहेकोले गठबन्धनको पक्षमा ५० सांसद पुगेका छन् । सत्तारूढ एमालेसँग अहिले प्रदेशसभामा मत संख्या ३९ मात्रै रहेको छ ।

बिहिबार, १७ भदौ, २०७८, दिउँसोको ०३:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर