सरकारले भन्यो : लामो अन्तरको खोपले पनि प्रभावकारी काम गर्छ

हालसम्म ४६ लाख ५९ हजार चार सय १४ पहिलो मात्रा र ३२ लाख २३ हजार ६ सय ९३ जनाले पूर्ण मात्राको खोप लगाइसके

विराटनगर । गएको फागुनमै कोरोनाविरुद्ध कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका हजारौं सर्वसाधारण दोस्रो मात्रा कुरेर बसेका छन् । लामो अन्तरालमा दोस्रो डोज पाउन लागेका उनीहरुले व्यक्त गर्ने चिन्ता एउटै छ ‘यसरी लामो अन्तरमा लगाउँदा खोपले काम गर्छ ?’

हजारौं नागरिकले प्रकट गरिरहेको यो चिन्ताबारे सरकारले शनिबार आधकिारिक धारणा सार्वजनिक गर्दै खोपले प्रभावकारी काम गर्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धेरै समयका अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने बताएको हो ।

मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त खोपले काम गर्ने स्पष्ट पारेको छ ।

मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको करिब पाँच महिनापछि दोस्रो मात्रा लगाए पनि खोपले काम गर्ने जानकारी दिए । गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्ष माथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई सो खोपको पहिलो मात्रा लगाएको थियो । अहिले करिब पाँच महिनापछि ‘एस्ट्राजेनिका’ खोपको दोस्रो मात्रा दिने क्रम सुरु भएको छ ।

सरकारले प्रदेश १ मा पनि छिट्टै दिइने बताउँदै आएको छ । ’कोभिशिल्ड–एस्ट्राजेनिका खोप लगाउँदा दुई मात्रा बीचको अन्तर दुईदेखि तीन महिना हुने भनिएको थियो । अहिले पाँच महिनापछि दोस्रो मात्रा दिएको छ,’ उनले भने, ‘यसबीच भएका अध्ययनले पहिलो मात्राले पनि काम गरिरहने र धेरै समयको अन्तरालमा दोस्रो मात्रा लगाउँदा पनि प्रभावकारी हुने देखिएका छन् ।’ उनले पहिलो मात्रा र दोस्रो मात्राको अन्तराल पाँच महिनाको भए पनि खोपले प्रभावकारी रुपमा काम गर्ने भएकाले ढुक्क भएर ‘एस्ट्राजेनिका’ खोपको दोस्रो मात्र लगाउन अनुरोध गरेका छन् ।

भूटानबाट दुई लाख ३० हजार र जापानबाट पाँच लाख १३ हजार मात्रा ‘एस्ट्राजेनिका’ खोप आइसकेपछि मन्त्रालयले कोभिशिल्डको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाएको हो । उनले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने भएकाले कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राका रुपमा एस्ट्राजेनिका लगाइएको बताए । हालसम्म ४६ लाख ५९ हजार चार सय १४ पहिलो मात्रा र ३२ लाख २३ हजार ६ सय ९३ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

शनिबार, ३० साउन, २०७८, साँझको ०५:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर