विपी प्रतिष्ठानका निर्देशक भन्छन् : अरु तीन जना पदाधिकारीले राजीनामा दिए प्रतिष्ठान बच्छ

विराटनगर । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अस्पताल निर्देशक प्राध्यापक डाक्टर गौरीशंकर शाहले आफूबाहेक उपकुलपतिसहितका अन्य तीन जना पदाधिकारीले राजीनामा दिएर प्रतिष्ठान बचाउनुपर्ने माग गरेका छन् ।

प्रतिष्ठानका चार पदाधिकारीमध्येका एक प्रा.डा. शाहले शनिबार विज्ञप्ति जारी गरेर उपकुलपति डा। ज्ञानेन्द्र गिरी, रेक्टर प्रा.डा. गुरुप्रसाद खनाल र रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले तत्काल राजीनामा दिएर प्रतिष्ठानलाई निकास दिन सुझाव दिएका छन् ।

विपी प्रतिष्ठानका आन्दोलनकारी चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले चारै जना पदाधिकारीको राजीनामा माग गरिरहेका छन् । लामो आन्दोलनका दौरानमा कोही पनि पदाधिकारी खुलेर बोलेका थिएनन् । यस्तो अवस्थामा आन्दोलनकारीले राजीनामा मागेका अस्पताल निर्देशक शाहले आफूबाहेकका अन्य तीन पदाधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

‘मेरा अग्रणी र प्रतिष्ठानका नियमावली प्रदत्त सम्पूर्ण अधिकार केन्द्रीत गरेर बसेका र अनेक सार्वजनिक आरोप व्यहोरिरहेका तीन जना पदाधिकारीहरु प्रतिष्ठान धराशायी भएर सधैंको निम्ति बन्द हुने अवस्थामा पुग्दासमेत मौन रहनुले त्यो हदसम्मको गैरजिम्मेवार बन्नु राज्य, जनता र संस्थाप्रति घोर अन्याय र अपराध हुने आत्मबोध भएर’ आफूले विज्ञप्ति जारी गरेको डा. शाहको भनाइ छ ।

अहिलेसम्म आफूले तीन जना उपकुलपतिहरु (प्रा. डा राजकुमार रौनियार, का वा उपकुलपति प्रा. डा गुरुप्रसाद खनाल र डा. ज्ञानेन्द्र गिरी) सँग काम गरेको उल्लेख गर्दै शाहले सबै उपकुलपतिले आफूलाई अधिकारविहीन तुल्याएको गुनासो पनि गरेका छन् ।

वर्तमान उपकुलपति गिरीले पनि नियमावलीमा भएको सबै अधिकार आफूलाई दिन नचाहेको बताउँदै शाहले तत्कालीन स्वास्थ्यमन्त्री (भानुभक्त ढकाल)ले आफूलाई बोलाएरै राजीनामा मागेको पनि उल्लेख गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘यसरी सम्पूर्ण कार्यकाल नै आफूभन्दा वरिष्ठ पदाधिकारीहरुको शक्ति संघर्षको कोपभाजनमा परेर बिताएको सन्दर्भमा हाल प्रतिष्ठानमा आन्दोलनरत पक्षले चारै जना पदाधिकारीको राजीनामाको मागप्रति म अत्यन्त गम्भीर भएको छु ।’

चारै जनाको राजीनामा माग्ने मुख्य कारण असार १५ को घटना भएको बताउँदै डा. शाहले उपकुलपति मदिरा सेवन गरेर वार्तामा बसेको कुरा पदाधिकारीले नै सार्वजनिक गरिदिएको आरोप पनि लगाएका छन् । त्यसबेला आफू कोभिड भएर आइसोलेसनमा रहेको बताउँदै उनले त्यसमा आफू संलग्न नरहेको उल्लेख गरेका छन् । प्रतिष्ठानको प्राध्यापक पद स्थायी र पदाधिकारी पद अस्थायी रहेको बताउँदै उनले अन्य पदाधिकारीले राजीनामा दिएर प्रतिष्ठान बचाउनुपर्ने माग गरेका छन् ।

शनिबार, ३० साउन, २०७८, दिउँसोको ०१:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर