नेपालले ४० लाख मोडेर्ना खोपका लागि सम्झौता गरेको विश्व बैंकको भनाइ

काठमाडौं । नेपालले कोभिड विरुद्धको मोडेर्ना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि सम्झौता गरेको विश्व ब्याङ्कले जनाएको छ।

कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व ब्याङ्कको वित्तीय सहयोगमा सो मात्रा खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको बताइएको छ।

विश्व ब्याङ्कले शुक्रवार जारी गरेको विज्ञप्तिका अनुसार यो सम्झौतासँगै नेपालको कोभिड-१९ विरुद्धको खोपका लागि पुँजीको विविधीकरण र सुदृढीकरण भएको छ ।

“कोभ्याक्स लागत साझेदारी कार्यक्रम अपनाउने नेपाल सुरुवाती देशहरू मध्येको एक हो र चुनौतीपूर्ण परिस्थितिहरूका बाबजुद हामीले नेपालका लागि सुरक्षित र अत्यन्तै प्रभावकारी खोप ल्याउनका लागि यस सम्झौता तय गर्न सफल भएकोमा म अत्यन्तै हर्षित छु,” स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठको भनाइ विज्ञप्तिमा उल्लेख छ ।

“मोडेर्ना खोपले १२ वर्ष उमेर माथिका नेपालीलाई आवश्यक खोपको विकल्पहरू विस्तार गर्न मद्दत गर्नुका साथै कोभिड पछिको सुरक्षित विश्वका लागि नेपालको प्रगतिलाई द्रुत गति दिन समेत सघाउने छ।”

उक्त खोप नेपालमा सन् २०२२ को मार्च महिनासम्म आउने अपेक्षा गरिएको बताइएको छ। उक्त खोपले नेपालका ७२ प्रतिशत जनसङ्ख्याका साथसाथै १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई खोप दिलाउने नेपालको लक्ष्य हासिल गर्नमा उल्लेख्य रूपले सघाउने ब्याङ्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

“कोभ्याक्स सुविधामार्फत कोभिड विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरू खरिद गर्नका लागि लगानी गरी विकासका साझेदारसँगै नेपाली जनता र नेपाल सरकारलाई सहयोग गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ,” माल्दिभ्स, नेपाल तथा श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले विज्ञप्तिमा भनेका छन्।

“यो सहयोग हाम्रो समग्र कोभिड प्रतिकार्यको एक मुख्य अंश हो जसले नेपालको आपत्कालीन स्वास्थ्य क्षेत्रको माग पुरा गर्न र स्वास्थ्य सेवा र खोप वितरण प्रणालीलाई सबल बनाउन सहयोग गर्नेछ।”

– बिबिसी नेपालीबाट साभार

शुक्रबार, २९ साउन, २०७८, साँझको ०५:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर