अनेरास्ववियु कुहिरोको काग भयो

 भाष्कर खनाल

अनेरास्ववियुको पछिल्लो (२२औं) महाधिवेशन ०७२ सालमा काठमाडौमा भएको थियो । प्रत्येक २ वर्षको अन्तरमा नेतृत्व परिवर्तन हुँदै आएको अनेरास्ववियु विगत ६ वर्षदेखि आफैं बिलखबन्दमा रहनु भनेको विद्यार्थी आन्दोलन माथिको जिम्मेवारीबाट बिचलित हुनु हो । राष्ट्रियताको पहरेदार, जनताको जनजीविकाको रक्षक, प्रगतिशील आन्दोलनको कमाण्डर र शिक्षा क्षेत्रको आमूल परिवर्तनको आन्दोलनको सडक बाघ संगठन यतिबेला कताकता कुहिरोमा हराएको चरी जस्तै हुन गैरहेको छ ।

२२औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष नविना लामा प्रतिनिधि सभाको सदस्य भए पश्चात् नेकपाको एकता प्रक्रियामा ०७६ जेठ ३ गते अनेरास्ववियुका तत्कालीन महासचिव कमरेड ऐन महरले अनेरास्ववियुको एकल नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभयो । तत्पश्चात अनेरास्ववियु एकताको काम धिमाहा गतिमा भएपनि अघि बढीरहेकै थियो तर पार्टीको आन्तरिक कलहका कारण एकता प्रक्रिया टुङ्गोमा पुग्न नपाउँदै विभाजनतर्फ धकेलिएको कुरा घाम जस्तै छर्लङ्ग छ ।

०७७ सालको पुष महिनाबाट आफ्नै ढंगले अघि बढेको अनेरास्ववियुले यो समयको बिचमा महामारीको प्रकोपमा परेका विद्यार्थी र आम जनसमुदायलाई राहत र उपचारको क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गर्यो । साथसाथै प्राकृतिक प्रकोपमा समेत उद्दार र राहतको क्षेत्रमा समेत विशेष भूमिका खेलेको कुरा जगजाहेर नै छ ।

तर संगठनको आन्तरिक जीवन भने चलायमान हुन सकेन । ७७ वटै जिल्ला कमिटी, ७ वटा प्रदेश कमिटी, विश्वविद्यालयहरुका राष्ट्रिय कमिटी र विभिन्न विषयगत कमिटी अझै निर्माण हुन नसकेका कारण संगठन कमजोर हुँदै जाने खतरा बढेको छ । आउँदै गरेको स्ववियु निर्वाचन, स्थानीय तहको निर्वाचन र आगामी वर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हाम्रो गौरवशाली पार्टी नेकपा एमाले र आम विद्यार्थी तथा जनसमुदायले अनेरास्ववियुबाट ठूलो अपेक्षा सँधैं झैं राखेकै हुन्छ । साथसाथै कोरोना महामारीको सुरुआतदेखि सम्पूर्ण शिक्षण संस्था बन्द रहेका छ्न । अनलाईन कक्षाहरु प्रभावकारी हुन सकेका छैनन । परीक्षा संचालन हुन सकेका छैनन् र एकेडेमीक क्यालेन्डर अनुसार शिक्षा क्षेत्र अघि बढ्न सकेको छैन ।

विदेशीका निम्ति कम्फरटेबल भनिएको परमादेशमार्फत बनेको देउवा सरकारले दार्चुला सिमानामा महाकाली तर्दै गरेका जयसिंह धामीलाई तुईन काटेर भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले हत्या गर्दासमेत केही नबोलेर साँच्चिकै देउवा सरकार बिदेशीका निम्ति कम्फर्टेबल रहेको पुष्टि गरेको छ र १२ लाखभन्दा बढी भूमिहीन सुकुम्बासी जनताले प्राप्त गर्न लागेको अधिकार माथि कुदृष्टी राखेर खारेज गरेको छ । यस्तो खाले देशद्रोही र जनतामारा सरकारको विरुद्ध न्यायीक आन्दोलनको अभियान चलाउन पर्ने बेला अनेरास्ववियु सांगठनिक हिसाबले बलियो रहेन भने आशा अनुसारको परिणाम आउन सक्दैन ।

त्यसकारणले अनेरास्ववियुको तत्काल पुनःगठन गर्नु जरुरी छ । निश्चित विधि बनाएर नेतृत्व हस्तान्तरणसहितको पुनर्गठन गरेर अनेरास्ववियुका कार्यकर्ताहरुलाई नयाँ जिम्मेवारी दिँदै विद्यार्थी आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउने अभियान तर्फलाग्न सम्पूर्ण अखिलका नेता कार्यकर्तालाई सादर अनुरोधसहित हार्दिक अभिवादन ।

बुधबार, २० साउन, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर