फाटेको टालोले छोपेको छर्लङ्गै देखियो

 गणेश लम्साल

१४ साउन विहान साढे ११ बजे विराटनगर महानगरपालिकाको गेट अगाडि ४०–५० जना युवाहरु भेला भए । उनीहरुले गेटमा ब्यानर टाँसे । चर्को घामको वेवास्ता गर्दै चर्को स्वरमा नारावाजी गर्नथाले । ‘जनता खोपको वेटिङमा, मेयर साहेब सेटिङमा’, ‘मेयर साहेबले के दिन्छ, पैसा भएका र क्रियाशिल सदस्यलाई मात्र खोप दिन्छ’, ‘राति–राति के हुन्छ, खोपमा मेयर साहेबको सेटिङ हुन्छ ।’ नारावाजी गर्ने युवाहरु कुनै विपक्षी दलका मात्र नभएर काँग्रेसबाट निर्वाचित भएका महानगरपालिका प्रमुख भीम पराजुलीकै पार्टीमा आबद्ध युवाहरु पनि थिए ।
आफूलाई भ्रष्टाचार विराधी र सुशासनमुखी भनाउन मन पराउने पराजुलीकै नेतृत्वमा कोरोना भाइरस विरुद्धको खोप दुरुयोग भएको भन्दै युवाहरुले महानगपालिका घेराउ गर्दै प्रदर्शन गरेका थिए । दिनभरि लाइन लाग्दा पनि सर्वसाधारणहरुले खोप लगाउन नपाएको बेला काँग्रेसको आपूmनिकट कार्यकर्तालाई मध्यरातमा घरमै खोप लगाइदिएको आरोप लागेको छ ।

युवाहरुका अनुसार बुधबार साँझ विराटनगर ५ मा कांग्रेस बुथ समितिका सभापति विमल राज भण्डारीको घरमा आफ्ना समर्थक र आसेपासेलाई खोप लगाउन मेयर पराजुली दलबलसहित पुगेका थिए । तर, राति ९ बजे सुटुक्क खोप लगाइरहेको थाहा पाएका स्थानीय भेला भएर विरोध गर्नथाले । त्यसपछि मेयर पराजुलीसहित सहयोगीहरुको भागाभाग भएको थियो । आक्रोशित स्थानीयले मेयर पराजुलीसँग आएका केही व्यक्तिलाई हातपात पनि गरे । त्यसपछि राति खोप लगाउने कार्य स्थगित भयो । प्रत्यक्षदर्शीहरुका अनुसार यसअघि पनि मेयर पराजुलीले पहुँचवालालाई घर–घरमा र आफ्नै घरमा बोलाएर सुटुक्क खोप दिलाएका थिए । उनले अक्सिजन पनि मापदण्ड लत्याएर विनाप्राविधिक ओसारेको भन्दै आलोचना भएको थियो ।

पराजुलीले भने रातको समयमा खोप लगाउने कार्यमा आफ्नो कुनै संलग्न नरहेको दावी गरेका छन् । उनले आफू वडा समितिको बैठकमा सहभागी हुन त्यहाँ पुगेको तर खोप आफ्नो निर्देशनमा नलगाएको बताउने गरेका छन् । तर, उनको यो भनाईलाई पानीमाथिको ओभानो बन्ने प्रयास मात्र भएको विराटनगर ५ का बासिन्दा बताउँछन् । नेपाली काँग्रेसले पनि कसैको घरमा खोप नलगाउने कार्य नभएको भन्दै बक्तव्य जारी गरेको छ । तर, प्रत्यक्षदर्शी टोलबासीहरुले क्रियाशिल सदस्यहरुलाई खोप लगाउन मेयर पराजुली आफंै राजभण्डारीको घरमा पुगेको र विरोध भएपछि भागेको बताएका छन् । नेकपा एमाले विराटनगर महानगर समिति संयोजक सागर थापाले पनि मेयरले आफ्नो गल्तिलाई विज्ञप्ती निकालेर छोप्न खोजेपनि त्यो सबै छर्लङ्ग देखिएकोले उनीमाथि छानविन हुनुपर्ने माग गरेका छन् ।

खोप अभियानलाई व्यवस्थित गराउन र सबैलाई सहज रुपमा खोप दिलाउनुपर्ने जिम्मेवारी सरकारको हो । नागरिक समाजले पनि खोपमा भइरहेको अनियमिताको छानविन गर्न प्रशासनसँग माग गरेको छ । तर, अझैसम्म विराटनगरको खोप काण्डबारे न त प्रदेश सरकार बोलेको छ न त संघीय सरकारको प्रशासन र महानगरपालिकाले छानविन गर्न तदारुकता देखाएको छ । यसअघि विराटनगस्थित सिटी सिनेमामा प्रदेश सरकारले गुपचुप रुपमा आपूmनिकटलाई खोप दिएपछि ठूलो हल्लिखल्ली भएको थियो । सो प्रकरणको छानविन गर्ने सामाजिक विकास मन्त्रालयले बताएको भन्दै त्यो आफैंमा अपत्यारिलो थियो । छानविनबारे अहिले कुनै रिपोर्ट सरकारले नदिएकोले छानविनको कुरा उसको गल्ती ढाकछोप गर्ने प्रयास मात्र भएको स्पष्ट छ ।

लकडाउनको समयमा बन्द सिनेमा हलभित्र पहुँचवालाहरुलाई सुटुक्क कोभिड विरुद्धको खोप लगाएको घटनामा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री कार्यालय मुछिएको थियो । सरकारले घटनामा संलग्नता नरहेको दावी त गर्यो, तर खोप कसले त्यहाँ लगेको थियो भन्नेबारे न कुनै छानविन गर्यो, न जानकारी दियो । सामाजिक विकासमन्त्री उषाकला राईले छानविन गरेर दोषीमाथि कार्वाही गर्ने बताएकी थिइन् । जुन कुरा उनको सस्तो प्रचारबाजी मात्र भएको सावित भइसकेको छ ।

सरकारका मन्त्री, जनप्रतिनिधि र कर्मचारीहरु कुनै एक दल वा व्यक्तिका मात्र हुदैनन् । उनीहरु आम नागरिकहरुको समान हितका लागि जनताले चुनेर पठाएका जिम्मेवार प्रतिनिधिहरु हुन् । यसैले उनीहरुलाई जनताले उच्च सम्मान दिने गरेका छन् । राज्यले पनि सबैको समान रुपले सर्वोत्तम हितका लागि उत्तरदायित्व बहन गर्दै लागि पर्ने प्रतिनिधि भएकोले सार्वजनिक व्यक्तिको पद दिँदै उचित सम्मानसहित सेवा र सुबिधाहरु दिने गरेको छ । यसैले उनीहरु आम नागरिकहरुका अभिभावक कहलिएका हुन् । तर, यसो भन्दैमा उनीहरुले मनपरी गर्ने छुट चाँही पाउदैनन् । बरु अनियमितताको अन्त, भ्रष्टाचार नियन्त्रण र सुशासन बहालीका लागि उनीहरु अझै बढी जिम्मेवार हुन्छन र हुनुपर्छ । यसैले अब आफूले गरेका गलत कार्यहरुको जिम्मा लिएर जनतासँग क्षमा माग्न सरकार प्रतिनिधिहरुले सिक्नुपर्छ ।

गल्ति नभएमा घटना छानविन गराउन पहल लिनुपर्दछ । तर, विराटनगरका मेयर पराजुली र प्रदेश १ सरकार दुबै आफ्नो गल्ती कमजोरी ढाकछोप गराउन लागिपरेका छन् । यो सदाचारी हैन कदाचारी शासनको चरम उदाहरण हो । यसैले आम नागरिकहरुले सुशासनका लागि भण्डाफोर अभियान थाल्ने तयारी गर्दै भनिरहेका छन्, ‘मेयर साहेब सरकारी कर्तुत फाटेको टालाले छोपेको तर छोपे पनि छर्लङ्ग देखेको भनौं । विराटनगरबासी हो, भ्रष्टचार र अनियमितता यहाँ अरु को–कोबाट थप के के भो ?’

सोमबार, १८ साउन, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर