विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री शिवकुमार मण्डलको पहलमा सो क्षेत्रका ६ सय बढी सुकुमबासीलाई घर निर्माण गरी हस्तान्तरण गरेका छन् ।
यस्तै १ हजार ५० परिवारलाई भने सुरक्षित घर कार्यक्रम अन्तर्गत फुसको छानो हटाएर जस्ताको छाना लगाएका छन् । शुक्रबार विराटनगर–१६ दरैयाबस्तीमा निर्माण भएको जनता आवास कार्यक्रम अन्तर्गत बनेका ३० घर सुकुमबासी मुसहर परिवारलाई हस्तान्तरण गरिएको छ । उक्त घर पूर्वमन्त्री शिवकुमार मण्डल र वडाध्यक्ष मनोज सुब्बाले संयुक्त रुपमा उद्घाटन तथा हस्तान्तरण गरेका हुन् । यस्तै सोही वडामा केही दिनअगाडि ४९ वटा घर आफूले हस्तान्तरण गरेको मण्डलको भनाइ छ ।
कार्यक्रममा मण्डलले आफूले भन्दा पनि राज्यको तर्फबाट संविधानमा उल्लेख भएका अधिकार कार्यान्वयन गर्ने क्रममा सुकुमबासीलाई घर हस्तान्तरण गरेको बताए । ‘यो मेरो तर्फबाट भन्दा पनि संविधान प्रदत्त अधिकार कार्यान्वयन गरिएको हो,’ मण्डलले भने । मण्डलका अनुसार सो क्षेत्रका अति विपन्न मुस्लिम तथा सुकुमबासी मुहसर दलितहरुलाई लक्षित गरि कार्यक्रम संचालन गरिएको हो ।
घर पाएपछि महलसदा मुसहरले खुसी व्यक्त गरे । संघीय सरकारको जनता आवास कार्यक्रम अन्तर्गत ३ लाख रुपैयाँ लागतमा बनेका घरमा २ कोठा, १ भान्सा र १ शौचालय रहेको छ । आफ्नो क्षेत्रमा ६ सय बढी सुकुमबासीलाई घर निर्माण गरी हस्तान्तरण गरेको र १ हजार ५० परिवारलाई भने सुरक्षित घर कार्यक्रम अन्तर्गत फुसको छानो हटाएर जस्ताको छाना लगाउन पहल गरेको मण्डलले बताए ।
