नविन रिजाल मोरङ व्यापार संघको अध्यक्षमा एक्ला दाबेदार

विराटनगरका उद्योगी व्यापारीको पक्षमा सँधै सक्रिय रहने रिजालको विपक्षमा उम्मेद्वारी दिने उद्योगी अहिलेसम्म देखिएनन्

विराटनगर । नेपालको ऐतिहासिक र जेठो उद्योगी व्यवसायीहरुको संगठन मोरङ व्यापार संघको नयाँ ३३ औं कार्यसमितिको निर्वाचन आगामि साउन १७ गते हुँदैछ ।

व्यापार संघको कार्यालयमा हिंजो बसेको कार्यसमितिको बैठकले साउन १७ गते ६६ औं साधरणसभा गर्ने निर्णय गरेसँगै नयाँ नेतृत्वको दौडधूप पनि सुरु भएको छ । तर, अहिलेसम्म ३२ औं कार्यसमितिमा निर्वाचित भएका बरिष्ठ उपाध्यक्ष नविन रिजालमात्रै अध्यक्षको दौडमा रहेका छन् ।

३२ औं कार्यसमितिको अध्यक्षमा प्रकाश मुन्दडाको प्यानल नै अत्याधिक मतका साथ विजयी भएको थियो । मुन्दडाकै प्यानलबाट जितेका रिजाललाई यस पटक मुन्दडासहित पूर्वअध्यक्षहरु पवनकुमार सारडा, महेश जाजुलगायतले समर्थन गरेका छन् ।

मोरङ व्यापार संघमा यसअघि पूर्व बरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत र पूर्व अध्यक्ष अविनाश बोहरा पक्षले फरक प्यानल निर्माण गर्दै आएको थियो । तर, सो पक्ष उद्योग वाणिज्य महासंघ प्रदेश १ र उद्योग वाणिज्य महासंघ केन्द्रतिर सिफ्ट भएपछि मोरङ व्यापार संघमा प्रतिस्पर्धी टिम कमजोर भएको व्यापारीबीचमा चर्चा हुने गरेको छ ।

मोरङ व्यापार संघमा २०६२ सालमा साधारण सदस्यता लिएका रिजाल २०६५ सालमा २८ औं कार्यसमिति सदस्यको रुपमा प्रवेश गरेका थिए । त्यसयता रिजाल निरन्तर कार्यसमितिमा रहँदै आएका छन् । उनी पदाधिकारी पदमा भने २०७१ सालको ३० औं कार्यसमिति (अध्यक्ष पवनकुमार सारडा)को प्रवक्ता बनेका थिए ।

यस्तै सारडाकै नेतृत्वको ०७४ मा निर्वाचित ३१ औं कार्यसमितिमा रिजाल महासचिव बनेका थिए भने यसअघिको ३२ औं कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष बनेका थिए । व्यापार संघ विधान अनुसार पहिले कार्यसमितिको सदस्यहरु निर्वाचित हुन्छन् । त्यसपछि उक्त कार्यसमितिले पुनः पदाधिकारी चयन गर्नेछन् । जसका कारण कसको प्यानल निर्वाचित हुने भन्ने विषयमा व्यापक चुनावी दौडधूप हुने गरेको छ । ‘अहिलेसम्म अध्यक्षको प्रत्याशी कोही पनि देखिएका छैनन्,’ रिजालले भने, ‘यसपटक एकल अध्यक्षको उम्मेद्वार हुने सम्भावना छ ।’ रिजाल विराटनगरका पुराना उद्योगी विनय रिजालका छोरा हुन् । उनले हाल पानी ट्याङ्की रिजाल्को ब्लो, प्लाष्टिकका अन्य सामाग्रीहरुका साथै रिजाल ग्याँस उद्योग र मास्क तथा सेनिटाइजर उद्योग संचालन गरिरहेका छन् ।

यसअघि महासचिव हुँदा रिजालले विराटनगरमा सम्पन्न विराट गोल्डकपको डे नाइट फुटबल प्रतियोगिताको सुरुवात गराएर व्यापार संंघलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनाउन सफल भएका थिए । रिजाल विराटनगरका विभिन्न सामाजिक संघ संगठनमा पनि आबद्ध छन् । उनले थुप्रै सामाजिक काममा आर्थिक सहयोग गर्दै आएका छन् ।

विराटनगरलाई राज्यको दोस्रो ठूलो र मुख्य औद्योगिक सहरको रूपमा पनि ख्याति कमाएको छ । यो ख्याती प्राप्त हुनुमा मोरङ व्यापार संघको महत्वपूर्ण योगदान रहेको छ ।

अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वको समिति २०७६ जेठ अन्तिममा चयन भएर असारदेखि कार्यभार सम्हाल्दै आएको छ । यसअघि नै कार्यकाल सकिसकेको भएपनि कोरोना महामारीको कारण केही पर सरेको व्यापार संघको भनाइ छ । संघले कोरोना संक्रमण कम हुँदै गएको र निषेधाज्ञा पनि सरकारले हटाएको कारण आउँदो साउनमै साधरणसभा सक्ने गरी निर्णय गरेको हो । संघको विधान अनुसार नयाँ कार्यसमितिको समयावधि २ वर्षे रहेको छ ।

बिहिबार, ३१ असार, २०७८, रातीको ०८:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर