विराटनगर । प्रदेश १ प्रादेशिक सञ्चार प्रतिष्ठानले कोभिड–१९ संक्रमित भई गम्भीर अवस्थामा बिरामी भएका र मृत्यु भएका ९ जनाको परिवारलाई २ लाख ७५ हजार रुपैयाँ वितरण गरेको छ ।
प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले बिहीबार एक विज्ञप्ति जारी गरी सहयोग गरिएको रकम सार्वजनिक गरेका हुन् । जारी विज्ञप्ति अनुसार कोभिड १९ संक्रमित भई गम्भीर अवस्थामा अस्पताल भर्ना भई अक्सिजनको सहयोग लिई वा सघन उपचार कक्षमा उपचार गराएका पत्रकार वा उपचारको क्रममा मृत्यु भएका पत्रकारको परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने निर्णय बमोजिम सहयोग रकम हस्तान्तरण गरिएको हो ।
प्रतिष्ठानले पाँचथरका मृतक पत्रकार एकराज भण्डारीको परिवार र सुनसरीका मृतक पत्रकार चन्द्र न्यौपानेको परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । यस्तै जनही २५ हजार रुपैयाँ सहयोग रकम पाउने पत्रकारहरुमा ओखलढुंगाका दीपेन्द्र रुम्दाली र जुद्धबहादुर राई, भोजपुरका सुरेन्द्र राई, झापाका पर्वत पोर्तेल, इलामका बुद्धवीर राई, खोटाङका लोकमणि रिजाल र उदयपुरका हरिकुमार राई रहेका छन् ।