विराटनगर । उद्योग संगठन मोरङले नयाँ व्यवसायको सिर्जना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको सुरुवात गरेको छ ।
कार्यक्रमको उद्घाटन संगठनका अध्यक्ष सुयश प्याकुरेलले गरे । सो अवसरमा उनले युवाहरुको नविनतम सोच र अवधारणालाई व्यवसायमा परिणत गर्दै व्यवसायीक क्षेत्रको ईको सिस्टम विकास गर्ने अभिप्रायका साथ स्र्टाटअप तथा इनोभेशन कार्यक्रमको सुरुआत गरेको बताए ।
उनले संचालनमा रहेका उद्योग÷व्यवसाय प्रवद्र्धनका साथै नयाँ उद्यमीको विकास गर्नुपर्ने सामाजिक उत्तरदायित्वसमेत संगठनको रहेको बताए । कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग प्राप्त हुने उनको विश्वास छ ।
स्र्टाटअप एण्ड इनोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाले अठार महिना अवधी रहने कार्यक्रममा प्रदेश नं १ भित्रका नविन व्यवसायीक अवधारणा भएका तथा स्तरोन्नतीको सम्भावना भएका २ वर्षअघिदेखि सञ्चालनमा रहेका नयाँ उद्यमिहरू सहभागि हुन सक्ने बताए ।
नमुना कार्यक्रमका रुपमा कार्यान्वयन गरिन लागेको यो कार्यक्रममा पहिलो चरणमा २० वटा स्टार्टअप व्यवसायको छनौट गरि निःशुल्क सेवा उपलब्ध गराइने छ । कार्यक्रम अन्तरगत छनौट भएका स्टार्टअप व्यवसायहरुलाई व्यवसायीक योजना तर्जुमा, वित्तीय व्यवस्थापन, व्यवसाय दर्ता, कानूनी परामर्श, प्रशासनिक परामर्श दिने उद्देश्य रहेको छ । यस्तै बजार व्यवस्थापन तथा ब्राण्डिङ, लेखा व्यवस्थापन, कर प्रशासन, मानव संसाधन तथा जिन्सी व्यवस्थापनलगायतका व्यवस्थापकीय विषयका साथै व्यवसायिक योजना अनुरुप आवश्यक पर्ने प्राविधिक विषयमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा पनि दिइने छ । कार्यक्रममा सहभागीलाई उद्योगी व्यवसायी, लगानीकर्ता र वितरकहरुसँग नेटवर्क तथा सञ्जालीकरण, वित्तीय पहुँचका लागि लगानीकर्ता, बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वय एवं सहजीकरण र बौद्धिक सम्पत्ती संरक्षण सम्बन्धी विषयमा परामर्श सेवा उपलब्ध गराइने छ ।
यसका अलावा, छनौट भएका स्टार्टअपहरुको व्यवसायको प्रकृति अनुसार अनुसन्धान तथा प्रयोगशाला परीक्षणका लागि विश्वविद्यालय, प्राविधिक शिक्षालय, सरकारी वा गैरसरकारी क्षेत्र, तथा नीजि क्षेत्रका प्रयोगशाला, अनुसन्धानशाला वा परीक्षण केन्द्रहरूसँग समन्वय गरि सेवा उपलब्धताका लागि सहजीकरण गरिने छ ।
यसका लागि पूर्वाञ्चल विश्वविद्यालय, मनमोहन प्राविधिक विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, राष्ट्रिय आविश्कार केन्द्र, अन्तरप्रेरणा प्रा.ली लगायतका संस्थासँग सहकार्य गरिएको छ भने बैंक तथा वित्तीय संस्थाबाट नबिल बैंक लिमिटेडसँग साझेदारी गरिएको छ । नबिल बैंक लिमिटेडले हालै शुरुवात गरेको दिगो बैंकिङ कार्यक्रमका माध्यमबाट स्टार्टअप व्यवसाय उद्यमीहरुलाई कर्जा प्रवाहमा मद्दत गर्ने छ ।
कार्यक्रममा समावेश हुनका लागि साउन ३२ गतेसम्ममा आवेदन गर्न सकिनेछ । कार्यक्रम सम्बन्धी विस्तृत जानकारी आवेदन फारमको नमुना तथा अनलाइन आवेदन फारम सङ्गठनको वेवासाइट डब्लुडब्लुडब्लु डट सिआइएम डट ओआरजी डट एनपीमा राखिएको छ ।