विराटनगर । कालोपत्र गरिएको महिना दिनमै मोरङको उर्लाबारी नगरपालिकाभित्र पर्ने किसानचौक–रमिते रवि सडक उप्किन थालेको छ । मोरङको पहाडी जिल्ला जोड्ने सडक खण्ड अन्तर्गत ७ सय मिटर कालोपत्रे उप्किन थालेको हो ।
कालोपत्रे सम्पन्न गरेको महिना दिन पुरा भएपछि किसानचौक–रमिते रवि सडकको कालोपत्रे गरिएको सडकको गिट्टी छरिन थालेको स्थानीय चन्द्रकला गौतमले जानकारी दिइन् । ‘पिच गरेको सडक महिना दिन भएको छ । अहिले कालोपत्रे उप्किन थालेको छ’ उनले भनिन्, ‘पिच सडकको बिचदेखि अहिले गिट्टी छरिन थालेको छ ।’
निर्माण कम्पनीले राम्रोसँग बेस, रोलिङ्ग नगरि कालोपत्रे गर्दा अहिले किसानचौक– रमिते रवि सडकको पिच उप्किन लागेको हो । ‘सडक निर्माण गर्दा गुणस्तरीय बनाउन हामीले निरन्तर खवरदारी पनि गरेका थियौं,’ स्थानीय गौमलले भनिन्, ‘निर्माण कम्पनीले हाम्रो कुनै सुनवाइ नगरी अटेरी भएर राम्रोसँग सोलिङ्ग नगरी प्राइम लगाएर कालोपत्रे गरिरदा अहिले यो सडकको यस्तो दुर्दशा हुन आएको छ ।’
स्थानीयले गुणस्तरहिन सडक निर्माण गरेकोले स्थानीय निकाय र प्रदेश सरकारले सडकको अनुगमन गरि गुणस्तरीय सडक निर्माणको लागि पहल गरिदिनुपर्ने माग राखेका छन् । ढुण्डी कन्सट्रक्सन निर्माण सेवा रतुवामाईले १ करोड १७ लाख रुपैयाँमा सडक कालोपत्रे गरेको हो ।
मोरङको उत्तरी क्षेत्रका स्थानीयलाई आवगमनमा सहज पु¥याउने उद्देश्यले पूर्व–पश्चिम राजमार्ग सँग जोड्ने सो सडकलाई प्रदेश १ सरकारले गौरवको योजनाको रुपमा राखेको छ । प्रदेशस्तरीय योजनामा समावेश भएको सडक भएपनि नेपाल सरकार सडक बिभागमार्फत ठेक्का आव्हान गरी कालोपत्रे गरिएको ७ सय मिटर सडक महिना दिनमै भत्किएको हो ।
सडक निर्माणको जिम्मा लिएको निर्माण पक्षले योजना समपन्नताको प्रमाणपत्र सम्वधित निकायमा पेश गर्न बाँकी नै छ । स्थानीय गुणस्तरहिन काम गर्ने ढुण्डी कन्सट्रक्सन निर्माण सेवाका संचालक अशोक भट्टराईको भुक्तानी रोकेर कार्वाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग राखेका छन् ।
टाँडीलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने एकमात्र बैकल्पिक सडकका रुपमा रहेको किसानचौक टाँडी सडक खण्डको यो भाग मात्रै नभएर अन्य स्थानको सडक पनि नाजुक रहेको छ । सडक निर्माणको ठेक्का पाएको ढुण्डी कन्सक्ट्रन्सका सञ्चालक अशोक भट्टराईले गुणस्तरीय सडक निर्माण गरेको भएपनि क्षमता भन्दा बढी ठूला सवारी धान गुडेको कारणले सडक बिग्रिएको स्वीकार गरेका छन् ।
‘सडक प्रविधिको मापदण्ड अनुरुपनै निर्माण भएको छ । रोडको क्षमता भन्दा बढी परावहन क्षमताका क्रसर उद्योगका सवारी साधानहरू गुड्ने भएको कारणले भत्किन पुगेको हो,’ उनले भने, ‘भत्किएको सडक पुनः निर्माण गर्नेछौं ।’ सडकको क्षमता २० टनको भएपनि सडकमा दैनिक रुपमा माथिल्लो भागमा खोलिएका क्रसर उद्योगका ३० टन क्षमताभन्दा बढि भार बोक्ने टिपर दैनिक हिड्ने गरेको निर्माण कम्पनीको दावी छ ।
सडक डिभिजन कार्यालय विराटनगरका सवइञ्जिनियर सुदिप ढकालले सडक पास भई नसकेकोले कालोपत्रे उप्किएको ठाउँमा पुनः निर्माण गरेपछि मात्र स्वीकृत गराईने बताएका छन् ।