लोड हुँदैछ...

मेनु

कानेपोखरीमा वृक्षारोपणको भव्य उद्घाटन

कानेपोखरीमा वृक्षारोपणको भव्य उद्घाटन

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा रहेको ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समुहले आयोजना गरेको वृक्षारोपण कार्यक्रमको आज भव्यता साथ उद्घाटन गरिएको छ । सो कार्यक्रमको उद्घाटन पालिका अध्यक्ष ताराबहादुर काफ्लेले बिरुवा रोपेर गरेका हुन्।

कानेपोखरी–६ सुन्तोलीदेखि पूर्व रहेको सोही वनको क्षेत्र नं. ३ भित्र पर्ने ७ हेक्टर जमिनमा ११ हजार २ सयवटा बिरुवाहरू रोप्न सुरू गरिएको छ। सव–डिभिजन वन कार्यालय कानेपोखरी, सोही पालिका भित्रका अन्य वन र सव–डिभिजन वन कार्यालय मङ्लबारेले सो बिरूवाहरू उपलब्ध गराएको हो ।

त्यस ठाउँमा साल, मसला, खयर, अम्बा, जामुन, सत्तिसाल, सिरिस टिकलगायतका जातको बिरुवाहरू रोपण गरिएको ग्रामीण सुधार सामुदायिक वनका अध्यक्ष नवीन राईले बताए ।

औपचारिक समारोहपछि सुरू गरिएको वृक्षारोपण कार्यक्रमको मुल नारा ‘सामुदायिक वन सबैका लागि सँधैका लागि’ भन्ने रहेको थियो । औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष काफ्ले भने, ‘बिरुवा रोप्नुभन्दा हुर्काउन गाह्रो हुन्छ, त्यसैले बोटबिरुवाको संरक्षण मेहेनतपूर्वक गर्नु आवश्यक छ ।’ उनले गाउँपालिकाभित्रका सामुदायिक वनलाई पालिकाले हरसमय सक्दो सहयोग गर्ने पनि बताए ।

सो वनका अध्यक्ष नवीन राईले एक रूख मास्दा त्यसको विकल्पमा अन्य केही बिरुवाहरू रोप्नु आवश्यक रहेको सुनाए । उनले समुदायस्तरमा कसैलाई निजी वन बनाउनका लागि बिरुवा चाहिएमा ग्रामीण सुधार वनमा सम्पर्क गर्न अनुरोधसमेत गरे ।

कार्यक्रममा प्रदेश १ सामुदायिक वन उपभोक्ता महासंघका अग्नि पौडेल, डिभिजन वन कार्यालय मोरङ प्रमुख अनिरुद्र शाह, सव डिभिजन वन कार्यालय, कानेपोखरी प्रमुख तुलसीलाल यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीयलगायतको उपस्तिथि थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds