विराटनगर । सञ्चालक समितिको म्याद सकिएको र नयाँ सञ्चालक समिति गठन नभएको कारण विराटनगरस्थित नेपालकै जेठो उद्योग विराटनगर जुट मिल्स लिमिटेड गत वैशाखदेखि अलपत्र परेको छ ।
गत वैशाख ७ गते मिल्सका अध्यक्ष वसन्त वनलगायत सञ्चालक समितिका सबै सदस्यको अवधि समाप्त भएपछि मिल्स बेवारिसे बनेको छ ।
सञ्चालक समिति नभएको र सुरक्षाको प्रबन्ध राम्रो नभएको कारण मिल्स परिसरमा चोरीका घटना हुने गरेका छन् । मेसिनका फलामे सामान लिएर भाग्दाभाग्दै गरेका अवस्थामा इलाका प्रहरी कार्यालय रानीले ३ पटक ६ जनालाई पक्राउ गरिसकेको छ ।
विराटनगर जुट मिल्स बचाउ अभियानका अध्यक्ष धर्मानन्द सञ्जेलका अनुसार अभियानको दबाबको कारण मिलभित्रको सेयरको खेल रोकिएर सरकारको ६८ प्रतिशत हिस्सा कायम भएको छ । तर, सरकार मिल्सको भविष्यप्रति उदासीन देखिएको उनले बताए ।
मिल्समा ६ जना रुङालुले जागिर पाइरहेका छन् । वैशाखमा कार्यकाल सकिएका वनले नियुक्त गरेका उनीहरु कार्यरत छन् । तर, उनीहरुलाई आपूmले व्यक्तिगत रुपमा तलब दिन परिरहेको वनले बताए । सञ्चालक समितिमा अर्काे अध्यक्ष नआएसम्म मिल सुरक्षा गर्ने जिम्मेवारी आफ्नो भएकाले मानिस खटाएको उनले बताए ।
आफूले आफ्नो निजी खर्चमा र व्यक्तिगत स्तरमा ६ जनालाई मिल्सका मालवस्तुको सुरक्षा गर्ने जिम्मेवारी दिएको वनले बताए । उद्योगले पहिले स्थानीय प्रशासनलाई मिल्सको सुरक्षाका लागि ध्यानाकर्षण पत्र पठाउने गरेकोमा अहिले त्यसबारे प्रशासन बेखबर छ ।
मिल्सका ४० कर्मचारीले ४ वर्षदेखिको तलबभत्ता पाएका छैनन् । कर्मचारीलाई तलबभत्ता दिन यसअघिको सञ्चालक समितिले मिल्सको जमिन विक्री गर्ने अनुमति सरकारसँग मागेको भएपनि सहमति पाएन ।
वन नेतृत्वको सञ्चालक समितिले मिल्सको सञ्चालन गरेर उत्पादन प्रक्रिया सुचारु गर्ने भन्दै सरकारसित ऋण माग गरेको भएपनि त्यसको प्रक्रिया अघि बढ्न सकेन । मिल्सका कर्मचारी अधिकृत तारानाथ तिम्सिनाले २०७० सालदेखि मिल्स पूर्णतः बन्द अवस्थामा भएको जानकारी दिएका छन् ।
२०६८ सालमा अशोक पोखरेल मिल्स सञ्चालक समितिका अध्यक्ष भएका बेला भारतको विनसम कम्पनीलाई मिल्स बहालमा दिएर सञ्चालन गरिएको थियो । तर, उत्पादन सुरु भएपछि विनसमले मिल्समा विद्युतको ३३ केभिए प्रसारण लाइन जडान नभएको भन्दै बाहिरिएपछि मिल बन्द छ ।
मिल्सको निर्णय पुस्तिकालगायतका सम्पूर्ण खातापाता पूर्वअध्यक्ष वनले मिल्स परिसरमा रहेको गेस्ट हाउसको दराजमा थन्क्याएर त्यसको साँचो आफूसित राखेको बताए । मिल्समा तत्कालीन अध्यक्ष अशोक पोखरेलले नियुक्त गरेका २० र त्यसपछि वनले नियुक्त गरेका २९ गरी ४९ कर्मचारीले साढे ३ करोड रुपैयाँ तलब पाउन बाँकी छ ।
विराटनगरको रानीमा मिल्सका नाममा ६५ बिघा र झापाको दमकमा ९ कट्ठा जमिन छ । यसबाहेक मिल्समा मिलमेसिनरी, कवाडी फलाम लगायतका सामानहरू १० करोड मूल्यका रहेको अनुमान छ ।