बेलबारी । मोरङको बेलबारी नगरपालिकाको ६९ आंै नगर कार्यपालिकाको बैठकले बेलबारी नगरपालिका र ग्रो अर्गानिक कृषि प्रालि संखुवासभाबीच भएको बोयर बाख्रा खरिद सम्झौता खारेज गरेको छ ।

गत जेठ ३ गते गरेको सम्झौता अनुसार मापदण्ड अनुसार बाख्रा नल्याएको सो कम्पनीसँगको ठेक्का सम्झौता खारेज गरि जमानत रमक जफत गरेर कालो सुचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारीस गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

नगरपालिकाका प्रबक्ता योगेन्द्र सुबेदीका अनुसार नगर कार्यापालिका सदस्य बिन्दुकला गुरुङको संयोजकत्वमा सो प्रकरणको छानविन गर्न समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दल नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रतिनिधि रहनेछन् ।

ग्रो अर्गानिक कृषि प्रालि संखुवासभालाई ठेक्का बापत हालसम्म कुनै रकम नगरपालिकालले भुक्तानी नगरेको नगरपालिकाले जनाएको छ । सो कम्पनीबाट अष्ट्रेलियाको बोयर जातको बाख्रा खरिद गर्ने सम्झौता नगरपालिकाले गरेकोमा नवलपरासीको लोकल बाख्रा ल्याएर कम्पनीले वितरण गरेको थियो ।