विर्तामोड । झापाको कचनकबलको बनियानीमा सर्पदंश उपचार केन्द्र सञ्चालन हुने भएको छ ।

कचनकबल बनियानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचारका लागि स्वास्थ्य मन्त्रालयले अनुमति प्रदान गरेको छ ।

विषालु सर्पको डसाइबाट बर्सेनि धेरै घाइते हुने र अस्पताल टाढा हुँदा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाबाट आजित भएका स्थानीयले विगत लामो समयदेखि सर्पदंश उपचार केन्द्रको माग गर्दै आएका थिए । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले कचनकबलको सर्पदंश उपचार केन्द्र सञ्चालनको अनुमति दिएको गाउँपालिकाका अध्यक्ष अन्जार आलमले जानकारी दिए ।

स्वास्थ्य विभागले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई परिपत्र गरी कचनकबलको सर्पदंश उपचार केन्द्रलाई आवश्यकताअनुसार ‘एन्टी स्नेक भेनम’ उपलब्ध गराउन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले प्रदेश नं १ कै मोरङको केराबारी गाउँपालिकाको कालापानी सर्पदंश उपचार केन्द्र र प्रदेश नं २ सप्तरीको कञ्चनरुप नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रलाई समेत सर्पदंश उपचारको अनुमति प्रदान गरेको छ ।

झापा मुलुककै सर्पदंशका बढी घटना हुने जिल्ला हो । हाल झापाको चारआली र दमकमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् । कचनकबलबासीको लामो समयदेखिको चाहनाका रूपमा रहेको सर्पदंश उपचार केन्द्र सञ्चालन स्वीकृति प्राप्त भएको समाचारले असाध्य खुसी तुल्याएको गाउँपालिकाले जनाएको छ ।

आगामी असार ३ गते सो क्षेत्रका निवर्तमान प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले केन्द्रको विधिवत् उद्घाटन गर्ने र सोही दिनबाट उपचार सुरु गरिने गाउँपालिका अध्यक्ष आलमले बताए । चालु आर्थिक वर्षमा गाउँपालिकाले सर्पदंश उपचारका लागि ७ लाख रुपैयाँ बजेटको व्यवस्था गरेको थियो ।

सर्पदंश उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रकै दुई जना स्वास्थ्यकर्मीलाई विशेष तालिम प्रदान गरिएको र एक जना एमबिबिएस तहका चिकित्सकसमेत नियमित उपलब्ध हुने बताइएको छ ।