लोड हुँदैछ...

मेनु

महिला उद्यमशीलता विकासमा छथरको पहल, उद्यमी बन्ने सीप सिक्दै ग्रामीण महिला

महिला उद्यमशीलता विकासमा छथरको पहल, उद्यमी बन्ने सीप सिक्दै ग्रामीण महिला

तेह्रथुम । ग्रामीण क्षेत्रमा महिलाको भूमिका परम्परागत रूपमा घरायसी कामकाजमा सीमित मानिँदै आए पनि पछिल्लो समय उनीहरू आर्थिक गतिविधि, व्यवसाय र उद्यमशीलतामा सक्रिय बन्दै गएका छन्। तर आवश्यक सीप, ज्ञान, प्रविधि र अवसरको अभावका कारण धेरै महिलाले आफ्नो सम्भावनालाई व्यवसायिक रूप दिन सकेका छैनन्। यही अवस्थालाई परिवर्तन गर्ने उद्देश्यले तेह्रथुमको छथर गाउँपालिकाले महिलाका लागि उद्यमशीलता विकास सम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन गरेको छ।

छथर गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको तालिममा उद्यम सञ्चालन गरिरहेका तथा भविष्यमा उद्यमी बन्न चाहने महिलाहरूको सहभागिता रहेको छ। तालिममार्फत सहभागीलाई व्यवसाय सञ्चालनका आधारभूत सिद्धान्त, उद्यमी सोचको विकास, स्थानीय स्रोत–साधनको उपयोग, उत्पादनको बजारीकरण, वित्तीय व्यवस्थापन तथा व्यवसाय विस्तारका सम्भावनाबारे जानकारी प्रदान गरिएको छ।

गाउँपालिकाका प्रवक्ता राजन नेपालीका अनुसार महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउन तथा साना व्यवसायलाई व्यवस्थित र दिगो उद्यममा रूपान्तरण गर्न कार्यक्रम सञ्चालन गरिएको हो। “धेरै महिलाहरू अनुभवका आधारमा व्यवसाय गरिरहनुभएको छ। तर व्यवसायलाई दीर्घकालीन रूपमा सफल बनाउन आवश्यक ज्ञान, योजना र व्यवस्थापन सीप आवश्यक पर्छ। यही आवश्यकता पूरा गर्न तालिम सञ्चालन गरिएको हो,” उनले भने।

ग्रामीण क्षेत्रमा महिलाहरू कृषि, पशुपालन, घरेलु उद्योग तथा साना व्यवसायमा लामो समयदेखि संलग्न भए पनि ती गतिविधिलाई व्यवस्थित उद्यममा रूपान्तरण गर्न आवश्यक व्यवसायिक ज्ञानको अभाव रहेको देखिन्छ। तालिमले महिलाहरूलाई आफ्ना गतिविधिलाई उद्यमका रूपमा विकास गर्ने दृष्टिकोण प्रदान गरेको आयोजकको विश्वास छ।

तालिममा सहभागी उद्यमी लक्ष्मी थापाले आफूले अहिलेसम्म सीमित अनुभवका आधारमा व्यवसाय सञ्चालन गर्दै आएको बताइन्। तालिमपछि व्यवसाय व्यवस्थापन, बजारीकरण र विस्तारका नयाँ उपायबारे जानकारी प्राप्त भएको भन्दै उनले यसले आफ्नो व्यवसायलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

छथर गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख ठाकुर कार्कीका अनुसार स्थानीय स्तरमा महिला उद्यमशीलता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रम विशेष महत्वको छ। देशभरका ७५३ स्थानीय तहमध्ये कार्यक्रम सञ्चालनका लागि छनोट भएका १०० स्थानीय तहमध्ये तेह्रथुमबाट छथर गाउँपालिका मात्रै छनोट भएको उनले जानकारी दिए।

“यो अवसरलाई सदुपयोग गर्दै उद्यम गर्न चाहने तथा व्यवसाय सञ्चालन गरिरहेका महिलालाई समेटेर तालिम सञ्चालन गरेका हौँ,” कार्कीले भने, “महिलाको आर्थिक सशक्तीकरणसँगै स्थानीय स्तरमा रोजगारी र उत्पादन वृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो।”

महिलालाई उद्यमसँग जोड्नु केवल आम्दानीको स्रोत सिर्जना गर्नु मात्र नभई आत्मविश्वास, नेतृत्व क्षमता र निर्णय गर्ने क्षमताको विकाससँग पनि सम्बन्धित विषय भएको सरोकारवालाहरू बताउँछन्। महिलाहरू आर्थिक रूपमा सबल बन्दा परिवार, समुदाय र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

छथर गाउँपालिकाले महिला, युवा तथा लक्षित वर्गको क्षमता विकासका लागि विगतदेखि नै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रमले स्थानीय स्रोत, सीप र सम्भावनाको उपयोग गर्दै स्वरोजगार सिर्जना गर्न तथा ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।