लोड हुँदैछ...

मेनु

कोशीमा मनसुन सक्रिय: तराई र पहाडमा वर्षाको सम्भावना, पश्चिममा ‘लु’

कोशीमा मनसुन सक्रिय: तराई र पहाडमा वर्षाको सम्भावना, पश्चिममा ‘लु’

विराटनगर । कोशी प्रदेशमा मनसुनी वायुको पूर्ण प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशका सम्पूर्ण भूभागसहित मधेश, बागमती, गण्डकीको केही भाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा मनसुन फैलिएको छ। जसका कारण कोशी प्रदेशमा आज दिनभर र रातभर नै मौसममा बदलाव आउने देखिएको छ।

विराटनगरसहित कोशी प्रदेशका तराईका भूभागमा आज दिउँसो र राति साधारणतया बादल लाग्नेछ। प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र तराईका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण गर्मीबाट केही राहत मिले पनि चट्याङ्गको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। रातिको समयमा पनि कोशीका पहाडी र तराई दुवै क्षेत्रमा बादल लाग्ने र वर्षा हुने क्रम जारी रहने देखिन्छ।

बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा अहिले पनि हल्का वर्षा भइरहेको छ। आज दिउँसो मधेश, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ। यी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले त्यहाँको मौसम अन्य क्षेत्रको तुलनामा सफा रहनेछ।

पूर्वमा मनसुनको प्रभावले वर्षा भइरहँदा, अर्कोतिर देशको पश्चिमी तराईमा भने अत्यधिक गर्मीको प्रकोप बढ्दो छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा आज पनि ‘तातो लहर’ (लू) चल्ने सम्भावना छ। साथै, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा समेत ‘तातो दिन’ हुने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।