वीरगञ्ज । जेष्ठ नागरिकलाई कोरोना संक्रमणले धेरै असर गरिरहेको बेला पर्साको वीरगञ्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीय शान्ति कार्की कोरोनामुक्त भएर घर फर्किएकी छन् ।
कोरोना संक्रमणको दोस्रो लहर आक्रामक देखिएको अवस्थामा कार्कीलाई वैशाख २२ गते कोरोना संक्रमण देखिएको थियो ।
संक्रमण भएपछि दुई दिन होम आइसोलेसनमै बसेकी कार्की महानगरले गोपालमण्डली धर्मशालामा सञ्चालन गरेको १ सय बेडको कोरोना अस्पताल उद्घाटनकै दिन २४ गते पहिलो विरामीको रुपमा भर्ना भएकी थिइन् । आइसोलेसनमा सहज रुपमा कोरोना परास्त गरेको उनले सुनाइन् ।
चिसो लाग्नसक्छ भनेर चिकित्सकले ननुहाउन भनेको भएपनि बिहान उठेपछि कौवा स्नान गरेर चोखो लुगा लगाएर जप, योग ध्यान, पूजापाठ, आराधना गर्ने गरेको उनले सुनाइन् । बिहान खाजाको रुपमा दूधरोटी, ११ बजे खाना र २ बजे नास्ता खाने र कहिलेकाहि उमालेको अण्डा मगाएर खाने गरेको उनको भनाइ छ । बेलुका ३ वटा रोटी, दूध र दाल खाएर उनी सुत्थिन् ।
अस्पतालमा बस्दा उनको अक्सिजन लेभल प्रायः सामान्य नै रहेको थियो । सामान्य संक्रमितलाई जस्तै भिटामिन बी, सी, ग्याष्टिकको औषधी र एउटा एन्टिबायोटिक मात्र उनलाई दिनुपरेको अस्पतालले जनाएको छ ।
नियमित योग ध्यान गर्ने र कुनै पनि दीर्घ रोग नभएकाले पनि कोरोना जित्न सहयोग गरेको उपमेयर कार्कीको ठम्याइ छ । महानगरपालिकाले सञ्चालन गरेको कोरोना अस्पतालबाट उपप्रमुख कार्कीलाई डिस्चार्ज गर्दा स्वागत गर्न नगर प्रमुख विजय सरावगी आफैं पुगेका थिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमबाट उठेका नगर प्रमुख सरावगीभन्दा बढी मतले कांग्रेसकी कार्की उपमेयरमा विजयी भएकी थिइन् । सरावगीले १९ हजार ३ सय ९३ मत ल्याउँदा कार्कीले १९ हजार ६ सय ७ मत पाएकी थिइन् ।
उनी प्रजातन्त्र सेनानी पनि हुन् । उनले पटक–पटक गरेर १० वर्ष जेल जीवन बिताएकी छन् ।