प्रदेश सरकारको निर्णय अलपत्र

सीमा क्षेत्रमा अझै बनेन्, होल्डिङ सेन्टर

विराटनगर । संक्रमण तीब्र रूपमा फैलिएको भारतदेखि आएका नेपाली नागरिकहरू राख्नको लागि बनाइने ‘होल्डिङ सेन्टर’ प्रदेश १ सरकारले बनाउन ढिलाई गरेको छ । संक्रमण तीब्र रूपमा फैलिसक्दा पनि होल्डिङ सेन्टर नबन्दा भारतदेखि आएकाहरू सिधै घर जाने गरेका छन् ।

भारतबाट आएकाहरु सोझै घर जाँदा थप संक्रमण बढेर जाने खतरा बढेको छ । प्रदेशभित्रको ५ वटा सीमा नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने जिम्मेवारी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पाएको भएपनि काम अगाडि बढेको छ ।

कोरोनाको संक्रमण व्यापक बनेपछि झापा, मोरङ र सुनसरीमा निषेधाज्ञा जारी भइसकेको छ । तर, सरकारको निर्णय अनुसार सुनसरीको भोक्राहा, मोरङको रानी, झापाको काँकडभिट्टा र गौरिगञ्ज तथा इलामको पशुपतिनगरमा बन्नुपर्ने होल्डिङ सेन्टर अझै बनेको छैन ।

सीमा नाकाहरूमा होल्डिङ सेन्टर अहिलेसम्म नहुँदा तीब्र रूपमा संक्रमण फैलिरहेको भारतबाट आएकाहरु सोझै घर जाने गरेकाले संक्रमणको थप जोखिम बढेर जाने स्वास्थ्यकर्मीहरूले बताएका छन् । जनस्वास्थ्य विज्ञ डा.नवराज सुब्बाले महामारी तीब्र रुपमा फैलिएको बेला संक्रमण बढेको देशदेखि आएकाहरु होल्डिङ सेन्टरमा नबसी घर जादा थप संक्रमण बढेर जाने बताए ।

‘संक्रमण तीब्र रूपमा फैलिएको देशदेखि आएकाहरूलाई स्वास्थ्य परीक्षण गरेर दुई साता होल्डिङ सेन्टरमा बस्नुपर्ने हो’ सुब्बाले भने, ‘कोरोना संक्रमण बढिरहेको छ, त्यसको रोकथाम र नियन्त्रणको प्रयासमा सरकारले गरेको तयारी निकै सुस्त देखिन्छ ।’ सरकारले ढिलाइ गर्दा संक्रमणको अवस्था भयावह हुने खतरा बढाएको विज्ञहरुको भनाइ छ ।

भारतबाट आएकाहरुलाई होल्डिङ सेन्टरमा राखेर सुरक्षित साथ गन्तव्यसम्म पु¥याउने व्यवस्था नभए अवस्था भयावह हुनेछ । विराटनगरस्थित रानी नाकाबाट अहिले दैनिक १ सयदेखि २ सय जना नेपाल आइरहेका छन् । जसमध्ये एन्टिजेन परीक्षण गर्दा दैनिक ५ देखि ८ जनासम्म कोरोना पोजिटिभ आउने गरेको छ । संक्रमण देखिएकोहरूलाई कहाँ राख्ने भन्ने यकिन नहुँदा गत बिहीबार भारतदेखि आएर संक्रमण देखिएका तीन जना रातभरी विराटनगरको रानीस्थित रूखको छाहारीमुनी बस्न बाध्य भएका थिए ।

रानी नाकाका हेल्थडेस्क प्रमुख डा.कमलकिशोर यादवले बिहीबारदेखि एन्टिजेन परीक्षणमा पोजिटिभ आएका बाहिरी जिल्लाका व्यक्तिहरुलाई नोबेल अस्पतालको आइसोलेशन वार्डमा पठाउन थालिएको बताए । नेगेटिभ आएकाहरु भने सार्वजनिक यातायातमा चढेर आ–आफ्ना गन्तव्यसम्म जाने गरेका छन् ।

विराटनगरमा होल्डिङ सेन्टरका लागि ठाउँ छनौट गर्न नसकेकाले समस्या भएको छ । यसअघि डिएभी स्कूलमा होल्डिङ सेन्टर राखेकोमा स्कूललाई बुझाउनुपर्ने रकम प्रदेश सरकारले नदिएकाले स्कूलले अनुमति दिएको छैन ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले होल्डिङ सेन्टर २÷४ दिनभित्रै सञ्चालनमा आउने दाबी गरेका छन् । ‘होल्डिङ सेन्टरको लागि स्थान छनौट भइरहेको छ,’ उनले भने, ‘केही दिनभित्रमा संचालनमा आउनेछ ।’ अचानक दोस्रो चरणको कोरोना संक्रमण फैलिएकाले व्यवस्थापनमा कठिन भएको मुख्यमन्त्री राईको दावी छ ।

तस्बीरः सीमा नाकामा एन्टिजेन परीक्षणपछि घर जान तयारी गर्दैै भारतबाट आएकाहरु ।

आइतबार, १९ बैशाख, २०७८, बिहानको ११:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर