जीवन विकास समाजद्धारा ५ करोडको अक्षयकोष स्थापना

विराटनगर । गरिबी रहित नेपालको लक्ष्य लिई स्थापना भएको मोरङको जीवन विकास समाजले ५ करोडको अक्षयकोष स्थापना गरेको छ ।

गुणस्तरीय शिक्षाको क्षेत्रमा उल्लेख्य कार्य गरेबापत समाजले एक अन्तराष्ट्रिय संस्थाबाट ३ लाख रुँपैया बराबरको डलर पुरस्कार प्राप्त गर्न सफल भएको थियो । पुरस्कार राशीमा सोही बराबरको रकम थप गरि समाजले ५ करोडको अक्षयकोष स्थापना गरेको हो । शुक्रबार मोरङको कटहरीस्थित केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै समाजले अक्षयकोष बारे जानकारी दिएको छ ।

कोषबाट दिगो विकासका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्‍याउने गैह्र–सरकारी संस्था, शैक्षिक संस्था र पत्रकारलाई यसै बर्षदेखि बार्षिक रु. १० लाख बराबरको ‘‘दिगो विकासका लागी जीवन विकास पुरस्कार २०७७’’ प्रदान गर्ने घोषणा गरेको छ । जसमा पहिलो, दोश्रो र तेश्रो विधा गरि क्रमशः गैह्र सरकारी संस्थालाई ५ लाख, सामुदायिक पुस्तकालय तथा विकास केन्द्रलाई ३ लाख र गुणस्तरीय शिक्षाको प्रर्वद्धनमा योगदान पुर्‍याउने पत्रकारलाई २ लाखको नगद पुरस्कार प्रदान गरिने संस्थाका कार्यकारी निर्देशक योगेन्द्र मण्डलले बताउनुभयो ।

पुरस्कारको व्यवस्थापनका लागी काठमाण्डौं विश्वविद्यालयका पुर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव श्रोत विकास केन्द्रका प्रतिनिधि सम्मिलित ७ सदस्यीय निर्देशक समिति गठन गरिएको छ ।

समितिले दिगो विकासको १७ वटा लक्ष्यहरु अन्तगर्तको ‘गुणस्तरीय शिक्षा’ को क्षेत्रमा योगदान पुर्‍याउने सरकारी तथा गैह्र सरकारी संस्था र पत्रकारहरुलाई चैत्र २५ गतेभित्र आवेदन पेश गर्न प्रथम पटक माघ २१ र दोश्रो पटक फाल्गुण २५ मा सुचना समेत जारी गरिसकेको छ । समितिले पुरस्कारको आवेदकको हकमा व्यक्तिगत क्षमता तथा संलग्नता, दुरदृष्टि तथा रणनितिक योजना, राष्ट्रिय दायित्व बोध र भौतिक तथा संस्थागत उपलब्धि लगायतका बिषयलाई मुल्याङ्कनको आधार बनाएको नेपाल सरकारका पुर्व सचिव माश्रम मिश्रले जानकारी दिनुभयो ।

पुरस्कारका लागी योग्यता पुगेका ईच्छुकले चैत्र २५ गतेभित्र जीवन विकास समाजको बेवसाईट http://prize.jeevanbikas.org.np मार्फत अनुसुचीको ढाँचा र पेश गर्नुपर्ने विवरणको छुट्टछुट्टै फारम डाउनलोड गरि आवेदन दिनसक्ने जनाईएको छ ।

 

 

 

शुक्रबार, २० चैत, २०७७, दिउँसोको ०३:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर