विराटनगर । सुनसरी र इनरुवा नगरपालिकाको मुख्य बजार क्षेत्रमा इनार तथा पुरानो समयको जनजीवन झल्किने प्रतिमाहरू मङ्गलबार अनावरण गरिएको छ ।
उपभोक्ता समितिका अध्यक्ष अभिनन्दकुमार यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरप्रमुख राजनकुमार मेहताले ती प्रतिमाहरू अनावरण गरेका हुन् ।
नगरप्रमुखका स्वकीय सचिव सुनोज निरौलाका अनुसार नगरको नाम तथा पहिचानसँग सम्बन्धित ती प्रतिमाहरू इनरुवा नगरपालिकाको १२ लाख तथा उपभोक्ता समितिको तीन लाख गरी १५ लाख रुपैयाँको लागतमा निर्माण भएको हो ।
ती प्रतिमाहरूको डिजाइन भद्रकाली कला केन्द्र इटहरीका कलाकारहरूले गरेका हुन्, जसको नेतृत्व कलाकार अभिषेक तिम्सिनाले गरेका थिए ।
पहिले–पहिले ग्रुदी भनिने सो ठाउँलाई २०४६ सालपछि जनआन्दोलन चोक भन्ने गरिएको थियो । तर मधेस आन्दोलनका क्रममा आन्दोलित दलहरूले पार्टीको झन्डा राखेर पछिल्लो सो ठाउँलाई मधेस आन्दोलन चोक भन्दै आएका थिए । त्यसरी केही पार्टीका झन्डाले समग्र इनरुवाको पहिचानको प्रतिनिधित्व हुन नसक्ने भन्दै नगरपालिकाले त्यहाँ प्रतीकात्मक प्रतिमा राख्ने योजना अघि सारेको थियो ।
ार्यक्रममा सङ्घीय सांसद सीताराम मेहता, नागरिक समाजका अगुवा पुरुषोत्तम घिमिरे, इनरुवा उद्योग–वाणिज्य सङ्घका अध्यक्ष वीरेन्द्र साह, कर्मचारी युनियन सङ्घका अध्यक्ष निखिल पोखरेल, वडाध्यक्षहरू रामचन्द्र पोद्दार, अन्जनीकुमार पोखरेल, समाजसेवी गेहेन्द्रचन्द्र ढुङ्गेललगायत वक्ताहरूले नगरपालिकाले नगरको पहिचानलाई महत्त्व दिएको भन्दै खुसी व्यक्त गरेका थिए ।