विराटनगर । वातावरणीय प्रदूषणका कारण चार दिन देशभरका शिक्षण संस्था बन्द गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयलाई विराटनगर महानगरपालिकालगायत देशभरका दर्जनौं स्थानीय तहले अस्वीकार गरेका छन् ।
शिक्षा मन्त्रालयले गरेको उक्त निर्णयप्रति असहमति राख्दै स्थानीय तहहरुले सूचना जारी गर्ने क्रम बढेको छ । प्रदेश १ को विराटनगर महानगरपालिका, इलाम नगरपालिका, इलामको रोङ गाउँपालिका, माईजोगमाई गाउँपालिका, गण्डकी प्रदेशको भिमाद नगरपालिकालगायतले औपचारिक सूचना जारी गर्दै शिक्षण संस्था सूचारु रहने जनाएका छन् ।
शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । जल तथा मौसमविद्का अनुसार लामो समयको खडेरीले हावा सुक्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धूलो र धुवाँ लिएर आएकाले प्रदूषण बढेको जनाएको छ ।
संघीय सरकारको यो निर्णयप्रति सरोकारवाला निकायहरुले भने असन्तुष्टि जनाएका छन् । केही भागमा देखिएको प्रदूषणका कारण देशभर एउटै निर्णय गर्न नहुने उनीहरुको भनाइ छ । सोही समयमा स्थानीय तहहरुले पनि धमाधम सूचना जारी गर्दै शिक्षण संस्था सुचारु रहने जनाएका हुन् ।