लोड हुँदैछ...

मेनु

क्रिकेटका मुख्य प्रशिक्षक डेव वाटमोर विराटनगरमा

क्रिकेटका मुख्य प्रशिक्षक डेव वाटमोर विराटनगरमा

विराटनगर। विराटनगरमा चार दिनसम्म आयोजना हुने प्रशिक्षणको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेव वाटमोर विराटनगर आइपुगेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजना र राष्ट्रिय खेलकुद परिषद् पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, प्रादेशिक क्रिकेट संघ, प्रदेश एक र मोरङ जिल्ला क्रिकेट संघको सहकार्यमा आयोजना गरिएको ‘नेपाल आउटरिच प्रोगाम’मा सहभागिताका लागि उनी विराटनगर आएका हुन् ।
उनले प्रदेश एकमा रहेका प्रशिक्षक, महिला तथा पुरुष राष्ट्रिय खेलाडी, प्रदेश, जिल्ला, एकेडेमी र विद्यालयका खेलाडीहरूलाइ प्रशिक्षण दिनेछन् ।
चार दिनसम्म आयोजना हुने प्रशिक्षणअन्तर्गत बुधबार बिहान प्रदेश एकभरिका प्रशिक्षक र अफिसियलहरूलाई वाटमोरले विशेष प्रशिक्षण दिएका थिए । यस्तै, वर्कशपअन्तर्गत वाटमोर र सहभागी प्रशिक्षक, अफिसियलहरूबीच अनुभव आदान–प्रदानसमेत गरिएको थियो ।
वर्कशपअन्तर्गत वाटमोरले वैजनाथपुरस्थित क्रिकेट रङ्गशालामा प्रदेश एकभरिका विभिन्न विद्यालयहरूका विद्यार्थीहरूको खेल–कौशल हेर्ने, विशेष प्रतिभा भएका खेलाडीहरूलाई छनोट गर्ने र प्रशिक्षण दिने कार्यक्रम रहेको छ । चार दिनसम्म प्रदेश राजधानी विराटनगरमा सञ्चालन हुने वर्कशपको दोस्रो र तेस्रो दिन प्रदेशभरिका राष्ट्रिय महिला तथा पुरुष खेलाडीहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । यस्तै, वर्कशपको अन्तिम दिन केही मैत्रीपूर्ण क्रिकेट खेल र प्रशिक्षण हुने कार्यक्रम तालिका रहेको प्रादेशिक क्रिकेट संघ प्रदेश १ का उपाध्यक्ष नवीन घिमिरेले जानकारी दिए ।
वर्कशपमा मुख्य प्रशिक्षक वाटमोरसँगै प्रशिक्षक जगत टमाटा, फिजियो विक्रम न्यौपाने, प्रदेश एक क्रिकेट टोलीका प्रशिक्षक प्रदीपराज पाण्डे, जिल्ला क्रिकेट सङ्घ मोरङका प्रशिक्षक महेश रिजाल सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।