लोड हुँदैछ...

मेनु

जनगणनाको तयारीमा जुट्यो तथ्यांक कार्यालय

जनगणनाको तयारीमा जुट्यो तथ्यांक कार्यालय

विराटनगर । आगामी असार महिनामा सञ्चालन हुने राष्ट्रिय जनगणना २०७८ को तयारीमा प्रादेशिक तथ्यांक कार्यालय जुटेको छ ।

जनगणना गर्ने प्रयोजनका लागि विराटनगर स्थित तथ्यांक कार्यालयलाई प्रादेशिक कार्यालयको जिम्मेवारी दिएपछि १४ वटै जिल्लामा जनगणना गराउने कार्यमा जुटेको हो । कार्यालयले सोमबार विराटनगरमा गणकहरुलाई प्रशिशित गर्न प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ ।

प्रदेश १ का १४ वटै जिल्लामा गणकहरुलाई तालिम दिने उद्देश्यले प्रशिक्षकहरुलाई तालिम दिन थालिएको हो ।

प्रादेशिक तथ्यांक कार्यालय विराटनगरले विराटनगरमा १० जिल्ला र झापाको भद्रपुरमा मेची अञ्चलका चार जिल्लाका प्रमुख प्रशिक्षकहरुलाई तालिम दिइरहेको छ । तालिममा करिव २५० जना मुख्य प्रशिक्षकहरु सहभागी रहेको बताइएको छ । तालिम एक सातासम्म चल्ने छ । यसपछि स्थानीय अधिकारी तालिम चैत १९ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने वैशाख १६ गतेदेखि २२ गतगेसम्म सुपरिवेक्षक तालिम सञ्चालन हुने बताइएको छ । गणकहरुले भने जेठ महिनामा तालिम दिने छन् ।

प्रदेश १ का प्रमुख सचिव सुमनराज अर्यालले सोमबार तालिमको उद्घाटन गर्दै जनगणनाको महत्वलाई गम्भीरतापूर्वक बुझ्नका लागि आग्रह गर्नु भएको थियो । उहाँले प्रशिक्षक तालिममा सहभागीहरुलाई उद्देश्य र लक्ष्यलाई सहयोग पुग्ने गरि जनगणनाको कार्य सम्पन्न गर्न सहयोगी बन्न निर्देशन समेत दिनुभएको थियो ।

जनसंख्याको यकिन तथ्यांक निर्वाचन क्षेत्र निर्धारण, वित्तिय बाँडफाँड, विकासमा प्राथमिकीकरण र मानव विकास सूचाङक तयार पार्ने प्रमुख आधार जनगणना नै भएकोले सबैको सक्रियता आवश्यक हुने उहाँले बताउनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जनगणना गर्दा वास्तविकताको आधारलाई ध्यान दिनुपर्ने बताउनुभयो । तोकिएको समयमा प्रभावकारी ढंगले काम अगाडि बढाउन उहाँले निर्देशन पनि दिनुभएको छ ।

केन्द्रीय तथ्यांक विभागका निर्देशक गणेशराज आचार्यले जिल्लामा प्रमुख जिल्ला अधिकारी नै प्रमुख जनगणना सुपरिवेक्षकको रुपमा खटिने व्यवस्था रहेको भन्दै कार्यक्रमलाई सफल बनाउने दायित्व जिल्ला प्रशासन कार्यलयको पनि भएको बताउनुभयो ।

जनगणना मार्फत परिवार संख्या, कृषि सम्बन्धी विवरण, परिवारबाट सरकारी अनुदानमा आवासीय घर निर्माण लगायतका तथ्यांक संकलन हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds