मोरङको तीन स्थानमा बिओपी स्थापना

विराटनगर । मोरङको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले थप तीन वटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ ।

रंगेलीको धनापट्टी, सुनबर्षीको सिक्टी र रतुवामाई नगरपालिकाको मिर्चाडाँगीमा बिओपी स्थापना गरिएको हो ।

सुनबर्षी नगरपालिका प्रमुख कालीप्रसाद दासले सिक्टी बोओपीको आइतबार उद्घाटन गरेसँगै तीन वटै बिओपी सञ्चालनमा आएको छ । यसअघि मोरङमा सशस्त्र प्रहरीको सीमाक्षेत्रमा ८ वटा बिओपी रहेको थियो ।

सिक्टी बिओपीका लागि सुनबर्षी नगरपालिकाले १० कठ्ठा ऐलानी जग्गाका साथै भौतिक संरचना निर्माणका लागि ५ लाख बजेटसमेत उपलब्ध गराएको छ । यस्तै, धनापट्टी बिओपीका लागि रंगेली नगरपालिकाले ११ लाख रुपैयाँको लागतमा उपभोक्ता समितिमार्फत र मिर्चाडाँगीमा रतुवामाई नगरपालिकाले १० लाखको लाागतमा भौतिक संरचना निर्माण गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणकाा गणपति एसपी तिर्थ पौडेलले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक बंशीराज दाहालले सरकारले नेपाल भारत सीमा क्षेत्रमा १ सय १४ वटा थपेर २ सय २१ वटा बिओपी पु¥याउने लक्ष्यअन्तर्गत मोरङमा तीन वटा बिओपी थपिएको बताउनुभयो । योसँगै ६३ किलोमिटर नेपाल–भारत सीमा भएको मोरङमा बिओपीको संख्या ११ पुगेको छ । प्रदेश १ मा २२ वटा नयाँ बिओपी थपिएको दाहालले बताउनुभयो ।

प्रदेशमा नेपाल–भारत सीमा क्षेत्रमा बिओपीको संख्या ५२ र नेपाल–चीन सीमा क्षेत्रमा २ गरी ५४ वटा पुगेको छ । सरकारले अब दोस्रो चरणमा नेपाल–भारत सीमा क्षेत्रमा बिओपीको संख्या थपेर ५ सय पु¥याउने लक्ष्य लिएको छ । त्यसका लागि जग्गा छनौटको काम भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रदेश १ मा दोस्रो चरणमा बिओपीको संख्या थपिएर ७६ वटासम्म पुग्नेछ । बिओपीको संख्या ७६ वटा पुगेपछि एउटा बिओपीदेखि अर्को बिओपीसम्मको दुरी ३ देखि ४ किलोमिटरमा झर्ने बताइएको छ ।

सोमबार, ०९ चैत, २०७७, बिहानको १०:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर