प्रहरीले २७ करोड उठायो

विराटनगर । चालु आर्थिक वर्षको ८ महिनामा प्रदेश १ प्रहरी कार्यालय मातहतबाट ४ हजार ६ सय ८९ मुद्दा दर्ता गरेर २७ करोड भन्दा बढी राजश्व संकलन गरेको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७६/०७७ को फागुन महिनासम्ममा प्रहरीको कार्यसम्पादनमा सुधार देखिएको छ ।

फैसला कार्यान्वयनतर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार भएका ५ सय ३९ जना फरार प्रतिवादी पक्राउ परेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी विपिन कार्कीले जानकारी दिनुभयो । फरार प्रतिवादी पक्राउबाट ६ सय ४२ बर्ष कैद भुक्तान भई २ करोड ३ लाख ४२ हजार ७ सय ४४ रुपैयाँ राजश्व संकलन भएको हो ।

यसैगरी लागुऔषध नियन्त्रणतर्फ १ हजार ६ सय ५१.६८१ ग्राम ब्राउनसुगर बरामद भएको छ । भारतदेखि तस्करी भइ नेपाल आएको ब्राउन सुगर महंगो मूल्यमा विक्री वितरण हुने लागुऔषध हो । यहाँ ल्याई पु¥याउँदा प्रतिडोज ३ हजार देखि ५ हजारमा बिक्री हुने गरेको सुरक्षा निकायको भनाई छ ।

ब्राउनसुगर झापाको काँकडभिट्टा नाकादेखि सबैभन्दा बढी अवैध रूपमा भित्रिने गरेको छ । यस्तै प्रहरीले ११ हजार ३१ केजी गाँजा चालु आर्थिक वर्षको ८ महिनामा बरामद गरेको छ । भन्सार चोरी निकासीतर्फ अबैध रुपमा सामान चोरी निकासी गर्ने १ सय ४२ जना पक्राउ परेका छन् । १३ करोड १८ लाख ६ हजार ८०६ रुपैयाँ राजश्व संकलन भएको प्रदेश प्रहरीको अभिलेखमा देखिन्छ ।

यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने १४० मानिस पक्राउ परेका छन् भने ५ सय ९८ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गरि कारवाही गरिएको छ । सवारी साधन कारवाही गरि ४५ लाख ६६ हजार ७२० राजश्व संकलन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सो अबधिमा अबैध काठ चोरी निकासी गर्ने ४१ जना मानिस पक्राउ परेका छन् । २ हजार ३७ क्यू.फिट. काठ बरामद गरी ३० लाख ९५ हजार २०० रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी ट्राफिक ब्यबस्थापनतर्फ ८ महिनामा मात्र ट्राफिक नियम उल्लंघन गर्ने १ लाख ७९ हजार ३४९ वटा सवारी साधन कारवाहीमा परेका छन् ।

कारवाहीमा परेका सवारी साधनबाट ११ करोड १७ लाख २६ हजार राजश्व संकलन भएको प्रहरीले जनाएको छ । प्रदेशभरीमा कुल २७ करोड १५ लाख ३७ हजार ४७० राजश्व संकलन भएको प्रदेश प्रहरीले जनाएको छ ।

बिहिबार, ०५ चैत, २०७७, बिहानको १०:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर