विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–८ का वडाध्यक्ष नुरुल मियाँसँग भारतीय नागरिक भएको सोही वडाका सदस्यहरुले आरोप लगाएका छन् ।
भारतीय आधार कार्ड बनाएका मियाँले भारतीय बैंकमा खातासमेत खोलेको भन्दै उनीमाथि कार्वाही हुनुपर्ने माग वडा सदस्यहरुले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरेर गरेका हुन् ।
वडा सदस्यहरु कन्या मियाँ, कन्हैयालाल गनगाई, दुखिया ऋषिदेव र शिलादेवी गनगाइले वडाध्यक्ष मियाँलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय मोरङ र अख्तियारमा समेत उजुरी दिएको जनाएका हुन् । मियाँ तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । मियाँसँग ७०५४९२०३५५७० र भीआइडी नम्बर ९१२३८१११८८५३४५० रहेको आधार कार्ड रहेको वडा सदस्यहरूको भनाइ छ ।
आधार कार्डका आधारमा मियाँले फिनो पेमेन्टस् बैंकमा खाता खोेलेको बताइएको छ । बैंकको विवरणमा उनको ठेगाना सोनापुर–८ अररिया उल्लेख छ । उनले मोरङको तत्कालीन डाइनिया गाविस–३ बाट २०५५ साल असार ५ गते वंशजको नागरिकता लिएका हुन् ।
दोहोरो नागरिकता लिएको भन्दै वडा सदस्यहरूले माघ २६ गते अध्यक्ष मियाँविरूद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी गरेका थिए । वडाध्यक्ष मियाँले भने आफूले भारतको दिल्लीमा बस्दा आधार कार्ड बनाएको स्वीकार गर्दै रासन कार्ड र मतदाता नरहेकोले भारतीय नागरिक भन्न नमिल्ने बताउनुभयो ।