हेलिकप्टरमा ससुराली पुगेपछि मुख्यमन्त्री राई भाइरल

राज्य कोषको खर्चबाट उहाँले हेलिकोप्टर चढेको होइन । राज्यकोषबाट खर्च गरेको पुष्टि गर्न चुनौती दिन चाहन्छौंः प्रेस सल्लाहकार सुवेदी

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई संखुवासभाको मकालुस्थित ससुरालीमा हेलिकप्टर पुगेको फोटो उहाँकी श्रीमति ज्याङ्मु शेर्पाले सार्वजनिक गरेपछि भाइरल भएको छ ।

सामाजिक सञ्जालमा फेसबुकमा शेर्पाले राखेको श्रीमान (मुख्यमन्त्री)सँग माइतीघर हेलिकोप्टरमा पुगेको गत फागुन १३ गतेको तस्वीर भाइरल भएको हो ।

मुख्यमन्त्रीको सचिबालयका अनुसार सङ्खुवासभाको मकालु २ मा रहेको शेर्पाको जन्मघरमा मुख्यमन्त्री राई अटिच्युड हेलिकप्टरमा पुग्नुभएको थियो । मुख्यमन्त्रीको ससुराली गाउँमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री आम्बिरबाबु गुरुङ, संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम पनि छुट्टाछुट्टै हेलिकप्टरमा पुग्नुभएको थियो ।

मुख्यमन्त्रीसहितको टोली आएपछि गाउँपालिकाले एक कार्यक्रमसमेत आयोजना गरेर स्वागत गरेको थियो । मुख्यमन्त्री फागुन १३ गते मकालु पुगेको भएपनि श्रीमति शेर्पाले मंगलबार त्यो तस्बिर सार्वजनिक गर्नुभएको हो । श्रीमानसँग जन्मस्थल पुग्दा खुसी लागेको उहाँले लेख्नुभएको छ ।

‘मैले भर्खरै आफ्नो जन्मस्थल सङ्खुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान् माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुसी लाग्यो,’ शेर्पाले लेख्नुभएको छ ‘म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ, सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुसी लाग्यो ।’ उहाँले गाउँमा सडक, विद्युत्, शिक्षा, स्वास्थ्य र सञ्चारलगायतको पहुँच नपुगेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको उल्लेख गर्नुभएको छ ।

गत माघ ९ गते ५१ वर्षीय मुख्यमन्त्री राई र २२ वर्षीय शेर्पाबीच विवाह भएको थियो । विवाहयता मुख्यमन्त्री राईको दम्पत्तीले ओखलढुंगा, भोजपुर र संखुवासभामा पटक–पटक हेलिकप्टर सयर गरिसक्नुभएको छ ।

सचिवालयको खण्डन

यसैबीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चढेर ससुराली गएको भन्ने समाचारबारे मुख्यमन्त्री सचिवालयले खण्डन गरेको छ ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले सामाजिक संजालमा प्रष्ट पार्दै ससुराली गएको नभई मकालु गाउँपालिकामा तत्कालिन नेकपाको गाउँ कमिटीले आयोजना गरेको वृहत जनसभा लगायतका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न मुख्यमन्त्री जानुभएको उल्लेख गरेका छन् ।

‘माननीय मुख्यमन्त्री शेरधन राईको बारेमा आज केही कुत्सित मनसाय बोकेका मानिसहरुले सामाजिक सञ्जालमा र केही अनलाइन सञ्चार माध्यमहरुमा प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको छ,’ सुवेदीले समाजिक संजालमा लेखेका छन्, ‘मुख्यमन्त्री राई गएको फागुन १३ गते संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा तत्कालिन नेकपाको गाउँ कमिटीले आयोजना गरेको वृहत जनसभा लगायतका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न त्यहाँ जानु भएको हो । आज होइन ।’

सुवेदीले राज्य कोषको खर्चबाट उहाँले हेलिकोप्टर चढेको नचढेको पनि दाबी गरेका छन् । ‘राज्यकोषबाट खर्च गरेको पुष्टि गर्न हामी चुनौती दिन्छौं’, सुवेदीले उल्लेख गरेका छन्, ‘पछिल्लो घटनाक्रमबाट आत्तिएका, विरक्तिएका र वैरागिएका साथै मुख्यमन्त्रीले प्राप्त गर्नु भएको सफलतालाई देख्न नचाहने स्वार्थी, षडयन्त्रकारी र कलुशित सोच भएकाहरुले चलाएको भ्रम बाहेक अरु केही पनि होइन ।’

मङ्गलबार, ०३ चैत, २०७७, साँझको ०५:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर