विराटनगर । विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर विराटनगरमा पत्रकार अनिल श्रेष्ठ नगदसहित सम्मानित हुनुभएको छ ।
वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर श्रेष्ठलाई सोमबार विराटनगरमा सम्मान गरेको हो ।
श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले कदर पत्र र नगद पाँच हजार रूपैयाँसहित सम्मान गर्नुभयो । सोही अवसरमा निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने विद्यार्थीहरू नगदसहित पुरस्कृत भएका छन् ।
विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भ पारेर ‘उपभोक्ताको हकको कार्यान्वयनमा विद्यार्थीको भूमिका’ शिर्षकको निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताको प्रथम मोरङको रतुवामाइ नगरपालिका ९ स्थित जनता माविमा अध्ययनरत रोशिका अधिकारी, द्वितीय विराटनगरको अरनिको स्कूलकी लुनाकिरण सापकोटा, तृतीय उर्लाबारीको सुनपकुवा माविका अञ्जान मिश्र र चौथो धनकुटाको गोकुण्डेश्वर माविका पुष्पदिप विश्वकर्मा भएको आयोजकले जनाएको छ ।