‘लक सिस्टम’ ले पनि रोकिएन इन्धन तस्करी

भारतीय बजारमा लगेर बेच्दा धेरै फाइदा हुने भएपछि तस्कर गिरोह नै सक्रिय

विराटनगर । नेपालभन्दा भारतमा डिजेल प्रतिलिटर २५ रुपैयाँ महंगोमा बिक्री हुने भएपछि तस्कर गिरोहले अनेक जुक्ति लगाएर कारोबार चलाइरहेको पाइएको छ । यसअघि मोटरसाइकल वा साइकलमा जर्किनमा राखेर तस्करी हुँदै आएको इन्धन पछिल्लो समय ट्याङ्करमा नैै तस्करी हुने गरेको पाइएको छ ।

शनिबार फेला परेको एउटा ट्यांकरले यसको रहस्य खोलिदिएको हो । डिजल लोड गरी भारततर्फ जान लागेको ट्यांकर नियन्त्रणमा लिएसँगै भारतबाट आयात गरिएको इन्धन भारत नै तस्करी हुने गरेको रहस्य बाहिर आएको हो ।

शनिबार इन्धन लिनका लागि भारत जाने तयारीमा रहेको को १ ख ५९१२ नम्बरको ट्यांकर जाँच गर्दा २ हजार ६ सय ६० लिटर डिजल बरामद भएको थियो । ट्यांकरको दुई नम्बर च्याम्बरमा आधा लोड गरिएको अवस्थामा डिजल भेटिएपछि नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरले मोरङ प्रहरीलाई खबर गरेको थियो । भारत अररिया जिल्ला मिरगन्जका चालक र सह–चालक २६ वर्षीय मोहमद सजाद र २१ वर्षीय इमरोज आलमलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गर्दा उनीहरूले डिजल तस्करी गरेर भारत लैजाने तयारी गरेको खुलेको मोरङ प्रहरीले जनाएको छ ।

भारतको बरौनी डिपोबाट शुक्रबार आयल निगम विराटनगरका लागि २० हजार लिटर पेट्रोल लिएर आएको सो ट्यांकरको अटोमेटिक रूपमा गरिएको लक (चाबी) आयल निगममा खोलिएको थियो । त्यसपछि ट्यांकरले बेलबारीमा रहेको २ वटा, विराटचौक र सुनसरीको तरहरामा रहेको १–१ वटा पेट्रोल पम्पहरूमा समान ५÷५ हजार लिटरको दरले पेट्रोल अनलोड गरेको थियो । पेट्रोल खन्याएपछि बुढीगंगा गाउँपालिका ४ नेमुवामा रहेको नितेश आयलमा डिजल लोड गरेको खुलेको छ ।

तस्करीमा प्रयोग भएको ट्यांकर ढुवानी व्यावसायी संघ मोरङका सचिव चरणप्रित सिंहको हो । उनका आधा दर्जनभन्दा बढी ट्यांकर छन् । व्यवसायी, चालक र सह–चालकको मिलेमतोमा इन्धन भारततर्फ तस्करी गरेको हुनसक्ने भएकोले प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अघि बढाएको छ ।

‘ड्राइभरले मात्रै चोरी गर्ने आँट गर्दैन, यहाँ गाडी मालिक सिंहकै हात छ,’ सुरक्षा स्रोतले भन्यो, ‘सबैको मिलेमतोमा भारततर्फ इन्धनको तस्करी भइरहेको छ ।’ निगमले विराटनगर र बरौनीमा मात्रै लक खोल्ने चाबी रहेको बताउँदै आएको छ । तर, बीच बाटोमा तेल अनलोड हुने भएका कारण चोरीमा गिरोह नै सक्रिय रहेको प्रहरीको आशंका छ । भारतमा इन्धन महंगो भएका कारण निगमले भारत जाने खाली ट्यांकरमा पनि लक लगाउने गरेको थियो ।

शनिबार लक लगाउने क्रममा डिजेल लोड गरेको अवस्थामा भेटिएको नेपाल आयल निगम प्रदेश १ विराटनगरका प्रमुख नकुल भण्डारीले जानकारी दिनुभयो । ‘शुक्रबार बरौनीबाट आएको ट्यांकरले सोही दिन डिपोमा ढुवानी गरी शनिबार निगममा आएको थियो,’ उहाँले भन्नुभयो, ‘हामीले भारत जाने खाली साधनमा पनि लक गर्ने गरेका थियौँ, जसको चाबी विराटनगर र बरौनी डिपोमा मात्रै हुन्छ । तर, लक गर्ने क्रममा शङ्का लागेर हेर्दा ट्यांकरमा डिजल भेटियो ।’

डिजल भेटिएपछि थप अनुसन्धानको लागि मोरङ प्रहरीलाई निगमले जानकारी गराएको थियो । प्रहरीले प्रारम्भिक चरणको अनुसन्धानमा भारततर्फ इन्धन तस्करी हुने गरेको पुष्टि भएपछि थप कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा जिम्मा लगाइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।

इन्धन तस्करीको कारण

नेपालमाभन्दा भारतमा प्रतिलिटर इन्धन २५ रुपैयाँ महंगो छ । भारतमा पेट्रोल प्रतिलिटर १ सय ५५ रुपैयाँ प्रतिलिटरसम्म पर्छ । नेपालमा भने पेट्रोलको मूल्य १ सय १६ रुपैयाँ छ । डिजल नेपालमा ९९ रुपैयाँ प्रतिलिटर छ भने भारतमा १ सय २५ रुपैयाँ प्रतिलिटर रहेको छ ।
‘भारतमा महंगोमा बेच्नका लागि चोरी गरी लैजाँदा रहेछन्,’ आयल निगमका एक अधिकारीले भन्नुभयो, ‘नेपालको तुलनामा भारतमा इन्धन धेरै महंगो छ । त्यही भएर तस्करी हुने गरेको छ ।’ शनिबार तस्करी हुन लागेको बेला बरामद भएको इन्धन भारत पु¥याउँदा तस्करीमा लागेका गिरोहलाई करिब ६५ हजार रुपैयाँ फाइदा हुने भएको थियो ।

मङ्गलबार, ०३ चैत, २०७७, बिहानको १०:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर