विराटनगर । बोक्सीको आरोपमा परिवारै मिलेर मोरङको रतुवामाईकी वृद्धा महिलामाथि निर्घात कुटपिट गरिएको छ ।
छिमेकी परिवारका ५ जना सदस्य मिलेर सामूहिक आक्रमण गर्दा रतुवामाई नगरपालिका–२ घर भएकी वृद्धाको अवस्था गम्भीर छ ।
बृद्धामाथि खाँबोमा बाँधेर अमानवीय हिसाबले आक्रमण भएको थियो । वृद्धाको अनुहार, हात, खुट्टा, ढाडलगायत शरिरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । उहाँमाथि लात्ती, मुक्का र लाठीले आक्रमण भएको प्रहरीको भनाइ छ ।
शुक्रबार राति १० बजेतिर भएको घटनामा घाइते भएकी बृद्धालाई उपचारका लागि कोसी अस्पताल विराटनगरमा भर्ना गरिएको छ । घाइते उहाँले बोल्न र घटनाका बारेमा बताउन सक्ने अवस्था नरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।
कुटपिटपछि विभिन्न अङ्गबाट निस्किएको रगत वृद्धाले लगाएका कपडामा समेत लागेको छ । आक्रमणबाट वृद्धा बेहोस बनेको देखेपछि श्रीमानले प्रहरीलाई घटनाका बारेमा जानकारी दिएको बताइएको छ । उनीमाथि ६५ वर्षीय भीमलालसिंह गनगाईं, ६० वर्षीय जितनलालसिंह गनगाईं, ५० वर्षीय लखनलालसिंह गनगाईं, २७ वर्षीय लक्ष्मीप्रसादसिंह गनगाईं र १९ वर्षीया हैरानी गनगाईंले मिलेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिट गर्नेमध्ये भीमलाल, जितनलाल र लखनलाल एउटै परिवारका दाजु–भाइ हुन् । लक्ष्मीप्रसाद उनीहरुका भतिज र हैरानी भीमलालकी छोरी रहेको बताइएको छ ।
हैरानीकी दिदी पुनमदेवी गनगाईंसँग भएको विवादको रिसइबीलाई लिएर बोक्सीको आरोप लगाउँदै वृद्धामाथि सामूहिक आक्रमण गरिएको प्रहरीले जनाएको छ । राति घरमा सुतिरहेका बेला गनगाईं परिवारका सदस्य वृद्धालाई घरबाटै उठाएर नजिकको गाई बाँध्ने गोठमा लगेर कुटपिट गरेका थिए ।
बोक्सी आरोप लगाउँदै बृद्धाले टुनामुना लगाइदिएर बिरामी बनाउने गरेको भन्दै गनगाईं परिवारले यसअघि पनि पटक–पटक दुव्र्यवहार गरेको जनाएको छ । पीडितका श्रीमानले घटनामा संलग्नविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले लखनलाल र हैरानीलाई पक्राउ गरेर बोक्सी आरोपमा दुव्र्यबहार गरेको कसुरमा मुद्दा चलाउन अनुसन्धानका लागि अदालतबाट आइतबार म्याद थप गरेको छ ।
घटनामा संलग्न अन्य तीन जना फरार छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।