उद्यमीले ४ प्रतिशतमा कर्जा पाउने

विराटचोक । मोरङको सुन्दरहरैंचाका युवाले उद्यम गर्न चाहेमा २ लाखदेखि १५ लाख रुपैयाँसम्म कर्जा ४ प्रतिशत ब्याजदरमा पाउने भएका छन् ।

नेपाल बंगलादेश र सुन्दरहरैंचा नगरपालिकाबीच भएको सम्झौता अनुसार कर्जाका लागि आवश्यक पर्ने फर्म दर्ता, चार किल्ला प्रमाणित, घरबाटोलगायत अन्य सिफारिश नगरपालिकाले निःशुल्क गर्ने भएको छ ।

नगरप्रमुख शिवप्रसाद ढकालको कार्यकक्षमा नगरपालिकाको तर्फबाट नगरप्रमुख ढकाल र बैंकको तर्फबाट प्रदेश प्रमुख कृष्णप्रसाद तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौतापत्रमा हस्ताक्षर गर्नुअघि नगरप्रमुख ढकाल र बैंकका प्रदेश प्रमुख तिम्सिनाले सहुलियतपूर्ण कर्जाको बारेमा जानकारी गराउनुभएको थियो ।

ऋण पाउनका लागि निवेदकले वडामा निवेदन दिएपछि वडाले नगरपालिकालाई सिफारिश गरेपछि त्यसकै आधारमा नगरले बैंकसँग ऋण प्रदान गर्न सिफारिश गर्ने सम्झौता भएको नगरप्रमख ढकालले बताउनुभयो । लिएको ऋण खराब कर्जामा परिणत भए नगरले सो कर्जा उठाउन पहल गर्ने र राज्यले दिने सबै सेवा र सुविधाबाट बञ्चित पनि गर्नसक्ने उहाँले जानकारी दिनुभयो ।

बैंकका प्रदेश प्रमुख तिम्सिनाले बैंकिङ पहुँच कम भएकाहरुको लागि यो व्यवस्था गरिएको बताउनुभयो । त्यस्तै, शिक्षित युवा स्वरोजगार शीर्षकमा अधिकतम् ७ लाख रुपैयाँसम्म ऋण प्रदान गर्ने जानकारी उहाँले दिनुभयो । विदेशबाट फर्किएका युवा, दलित युवा, स्वरोजगार बन्न चाहने युवा र उद्यमी बन्न चाहने महिलाका लागि यो योजना ल्याइएको उहाँले बताउनुभयो ।
बैंकको विराटचोक शाखाका प्रमुख सुजन तिम्सिनाले अडिट रिपोर्ट, प्रोजेक्ट रिपोर्टलगायतका अन्य कागजपत्र नचाहिने र आवश्यक प्रक्रिया पूरा गर्न सहज हुनुका साथै ब्याजदर कम भएकाले यो कर्जाबाट धेरै जना उद्यमी, व्यवसायी वा स्वरोजगार बन्नसक्ने बताउनुभयो । बैंकको आधारदरमा १ प्रतिशत थप गरी अधिकतम ब्याजदरको सीमा निर्धारण गरिएपनि बंगलादेशले आधार दरको ५० प्रतिशत कम ब्याजदरमा नै ऋण दिन लागेको नगरप्रमुख ढकालले बताउनुभयो ।

पुरुषका लागि अधिकतम ४ प्रतिशत र महिलाका लागि अधिकतम ३ प्रतिशत ब्याजदरमा ऋण दिने गरी बैंकसँग सहमति भएको छ । समझदारी पत्र हस्ताक्षर भएको मितिबाट २ वर्षसम्म कायम रहने बताइएको छ ।

समझदारी अवधि समाप्तिपछि दुबै पक्षको आपसी सहमतिमा नविकरण गर्न पनि सकिने सम्झौता पत्रमा उल्लेख छ ।

शनिबार, २९ फागुन, २०७७, दिउँसोको ०४:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर