इटहरीमा पाँच तारे होटल स्थापना

विराटनगर । सुनसरीको इटहरीमा वाटर पार्क सञ्चालन गरेका उद्यमी भीम पौडेलको समूहले नयाँ वर्षको अवसर पारेर आगामी वैशाखबाट पाँच तारे होटल पनि सञ्चालन गर्ने भएको छ ।

इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष रहेका पौडेल र गोर्खा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यको संयुक्त लगानीमा ५ तारे होटल गरिमा सञ्चालनमा आउन लागेको हो ।
वैशाखमा होटल संचालन गर्ने लक्ष्य राखिएको होटलका निर्देशक विनोद पौडेलले जानकारी दिनुभयो । निर्माण सुरु भएको ५ वर्षपछि होटलको सञ्चालन गर्न लागेको उहाँको भनाइ छ । होटलको निर्माण सुरु गर्दा अन्य केहि व्यक्ति साझेदार रहेकोमा उनीहरु अलग भएपछि अहिले २ जना मात्र छन् ।

होटललाई पाँच तारेको मान्यता दिन र होटलमा क्यासिनो सञ्चालनका लागि पर्यटन विभागमा आवेदन गरिएको पौडेलले बताउनुभयो । एक बिघा क्षेत्रफलमा फैलिएको होटलमा कुल ९० वटा कोठा छन् । जसमध्ये प्रेसिडेन्सियल सुइट रुम १, सुइट रुम ८, एक्जुक्युटिभ रुम १२, डिलक्स रुम २२ र स्ट्यान्डर्ड रुम ४७ वटा छन् ।

होटलमा तीन वटा रेस्टुरेन्ट रहेको छ । जसमध्ये ४० जना अटाउने एक रुफ टप रेस्टुरेन्ट छ भने अर्काे फाइन डाइनिङमा सय जना सजिलै बस्न सक्छन् । तेस्रो ४० जनाको क्षमताको क्याफे एन्ड बेकरी छ । त्यस्तै एक हजार क्षमताको एक र ७ सय क्षमताको एक गरी दुई वटा ब्याङ्केट हल छन् ।

होटलमा स्विमिङ पुल, हेल्थ क्लब, स्पा लगायतका सुविधा रहेको छ । व्यापारिक पाहुनालाई लक्षित गरि होटल स्थापना गरिएको पौडेलले बताउनुभयो । विवाह, मनोरञ्जन, जन्मोत्सव, वैवाहिक वर्षगाँठ, नयाँ वर्षलगायतका समारोह मनाउन भारतका ग्राहक पनि आउने अपेक्षा छ ।

शुक्रबार, २८ फागुन, २०७७, बिहानको १०:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर