बजारमा नक्कली मोबिल

नक्कली मोविल उद्योगमा प्रहरीको छापा, उद्योगी खेम्का पक्राउ

विराटनगर । नक्कली मोविल र इनामेल बनाएर बिक्री गर्दै आएको एउटा गैरकानूनी उद्योगमा प्रहरीले छापा मारेर सञ्चालकलाई पक्राउ गरेको छ ।

विराटनगर ११ मा गैरकानुनी रुपमा सञ्चालित उद्योगले विभिन्न प्रतिष्ठित ब्राण्डको उत्पादनलाई नक्कल गरेर बजारमा बिक्री गर्दै आएको थियो ।

नक्कली मोविल र इनामेल उत्पादन गरेर बजारमा बिक्री गर्ने गरेको सूचना पाएको प्रहरीले बिहीबार विराटनगर ११ स्थित उद्योगमा छापा मारेको थियो । प्रहरीले छापा मार्दा उद्योगमा तयार पारिएका मोबिलको डब्बाहरुमा धमाधम सर्वो ब्राण्डको स्टिकर टाँस्ने काम भइरहेको थियो ।
उद्योगले अरु विभिन्न ब्राण्डको स्टिकर टाँसेर पनि नक्कली मोविल बजारमा लगेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । प्रहरीको कारवाहीमा परेको सो उद्योगले विगत २० वर्षदेखि ब्राण्डहरुको नक्कल गरी वस्तु उत्पादन र बिक्री गर्ने गरेको खुलेको छ । उद्योगले गोदाम भाडामा लिएर उत्पादन र वितरणको काम गर्दै आएको थियो ।

नक्कली मोविल तथा इनामेल बनाएर बिक्री गरेको आरोपमा प्रहरीले उद्योगका सञ्चालक शंकरलाल खेम्कालाई पक्राउ गरेको छ । पक्राउ परेको खेम्कासँग आवश्यक सूचना लिएर अनुसन्धान अगाडि बढाइरहेको मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

गुणस्तरीय ब्राण्डको मोविल प्रयोग गरेका उपभोक्ताहरुले पटक पटक मोविलको गुणस्तरमा प्रश्न उठाएको र सवारी साधन बिग्रिने दरपनि बढेपछि मोविलनै नक्कली हुनसक्ने आशंका प्राविधिकहरुले गरेका थिए । त्यसैका आधारमा प्रहरीसमक्ष सो उद्योगको बारेमा सूचना पुगेपछि बिहीबार छापा मारेको थियो ।

प्रहरीले गोदामबाट नक्कली मोविल, इलामेल, प्याकेजिङ्गका सामानहरु, स्टिकर बनाउने उपकरण र सामग्री आदि बरामद गरेको जनाएको छ । त्यस क्रममा प्रहरीले २०० लिटर क्षमताको ड्रममा राखिएको १५ ड्रम मोविल, २० लिटरको ३ ड्रम, १० लिटरको २ वटा बाल्टिन, एक लिटरको १४ वटा डिब्बा, खाली ड्रम र बट्टाहरु, स्टिकर, स्टिकर छाप्ने मेसिन आदि सामान बरामद गरेको थियो । छापा मार्ने क्रममा प्रहरीले एशियन पेन्ट ब्राण्ड नेम दिएर तयार पारेको ५०० एमएलका ७ वटा बट्टा, ३३ थान प्लाष्टिक बाल्टिन पनि बरामद गरेको जनाएको छ ।

नक्कली वस्तु उत्पादन गरी उपभोक्तालाई बिक्री गरेको आरोपमा पक्राउ परेका उद्योग सञ्चालकलाई प्रहरीले कालाबजारी ऐन र ठगी मुद्दामा कारवाही अघि बढाउने बारेमा अध्ययन गरिरहेको जनाएको छ ।

शुक्रबार, २८ फागुन, २०७७, बिहानको १०:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर