विराटनगर । जेष्ठ नागरिकहरुका लागि विनियोजन गरेको बजेटमा मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सम्मिलित जम्बो टोली देशसयरमा निस्किएको छ ।
कोरोना महामारीले स्थानीय तहका दर्जनौं योजना सञ्चालन गर्न नसक्ने अवस्था उत्पन्न भएको बेला अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा गाउँपालिकाको टोली भ्रमणमा निस्किएको हो ।
कोरोनाका कारण राजश्व आम्दानीमा गिरावट आएपछि सरकारले पूँजीगत खर्चमा ब्यापक कटौति गरेको छ । प्रदेश सरकारले साधारण तर्फको योजना ५० प्रतिशतले कटौति गरी खर्च व्यवस्थापन गर्ने प्रयत्न गरेको छ । तर, कटहरी गाउँपालिका भने जेष्ठ नागरिकका लागि छुट्याएको रकम जनप्रतिनिधि र कर्मचारीलाई घुमाउनमा खर्च गरिरहेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।
कटहरी गाउँपालिकाले प्रकाशित गरेको योजना पुस्तिकाको पेज नम्बर १५४ मा सामाजिक विकास कार्यक्रम अन्तरगत जेष्ठ नागरिक अवलोकन भ्रमण शिर्षकमा ६ लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले सोही शिर्षकबाट खर्च गर्ने गरी अध्यक्ष रामकुमार कामत, प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापा, वडाध्यक्षहरु कपुरलाल माझी, जग्गुलाल कामत तथा पालिकाका लेखा शाखाका कर्मचारीहरु, प्राविधिकसहितको टोली पाँचदिने भ्रमणमा गएको हो । गाउँपालिकाका उपप्रमुख मन्जिताकुमारी सरदार भने भ्रमणमा सहभागी हुनुहुन्न ।
गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु अन्य स्थानीय तहहरुको अध्ययन भ्रमणका लागि गएको उपाध्यक्ष मन्जिताकुमारी सरदारले जानकारी दिनुभएको छ । अन्य प्रदेशका स्थानीय तहहरुसँग अनुभवहरुका बारेमा अन्तरक्रिया गर्ने उद्देश्यले भएको भ्रमणलाई अन्यथा लिन नहुने उहाँको भनाइ छ ।
उपाध्यक्ष सरदारले यात्राको एकदिन अघिमात्र भ्रमण स्थगित गर्नुभएको थियो । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी बाहेकका मानिसहरुपनि भ्रमणमा सहभागी हुने भएपछि उहाँले भ्रमण स्थगित गरी गाउँपालिकाको कामलाई निरन्तरता दिनुभएको छ । जनप्रतिनिधि र कर्मचारीको वृत्ति विकासका लागि भ्रमण स्वभाविक भएपनि भ्रमणसूचिमा नभएका व्यक्ति सहभागी हुने जानकारी पाएपछि भ्रमण स्थगित गरेको उहाँले बताउनुभएको छ । भ्रमणमा कतिपय जनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो परिवारका सदस्यहरुलाई पनि लगेका छन् ।
उपाध्यक्ष सरदारले गाउँपारिषदको बेलामा जनप्रतिनिधि र कर्मचारी भ्रमणकै लागि भनेर छलफल गरि बजेट विनियोजन गरेको तर बजेट पुस्तिकामा भने जेष्ठ नागरिक अध्ययन भ्रमण भन्ने पर्न गएको भन्दै बचाउ गर्नुभएको छ । ‘हामीले बजेट बनाउँदा परिषदमा अन्य गाउँपालिकाहरुसँग अनुभव साट्ने उद्देश्यलेनै यो शिर्षकमा छलफल गरेका थियौं,’ सरदारले भन्नुभयो ‘तर बजेट पुस्तिकामा फरक शिर्षकमा छापिएछ ।’
कटहरी गाउँपालिकाले जेष्ठ नागरिकहरुका लागि यो बाहेक अरु कुनै कार्यक्रम बनाएको छैन । उपाध्यक्ष सरदारले भन्नुभयो ‘जाडोको बेलामा न्यानो कपडाहरु उपलब्ध गराउने जस्ता केही बाहेक जेष्ठ नागरिक लक्षित विशेष कार्यक्रम छैनन् ।’
बजेटमै समुदाय लक्षित कार्यक्रममा विनियोजन गरिएको शिर्षकलाई अन्यथा प्रयोजनमा खर्च गर्नु बजेटको दुरुपयोग हो । जुन समुदायलाई लक्षित गरेर बजेट बनेको हो त्यसमा खर्च नगरी अन्यत्र खर्च गर्ने कार्यको आफुहरुले विरोध गरेको नेकपा प्रदेश कमिटी सदस्य तथा कटहरी संघर्ष समितिका संयोजक मृत्युञ्जयकुमार झाले बताउनुभयो । जेष्ठ नागरिकको नाममा छुट्टिएको बजेट दुरुपयोग भएको घटनामा नेकपा कटहरीको गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यसको विरोध गर्ने बताउनुभयो ।