इटहरीका मुलबाटो सबै कालोपत्रे हुने

इटहरी । सुनसरीको इटहरी उपमहानगरमा प्रमुख द्वारिकलाल चौधरीले आफूहरुको कार्यकालमा इटहरीको ग्रामिण क्षेत्रका सबै मुलबाटोहरु कालोपत्रे गरिसक्ने बताउनुभएको छ ।

इटहरी ४ को वडा कार्यालय भवन शिल्यान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख चौधरीले बहुवर्षीय सडक योजना अन्तर्गत गाउँ–गाउँका मुलबाटोहरु धमाधम कालोपत्रे भइरहेको बताउनुभयो ।

इटहरीमा ५ वटा मुलबाटो कालोपत्रे भइसकेको जानकारी दिँदै चौधरीले अरु योजनामा धमाधम काम भइरहेको बताउनुभयो । गाउँलाई शहरसँग जोड्दै ग्रामिण जनतालाई उपमहानगरवासी भएको अनुभूति हुन थालेको उहाँको भनाइ छ ।

नेकपामा देखिएको विग्रहले इटहरीको विकासमा कुनै प्रभाव नपरेको भन्दै चौधरीले आफ्नो सम्पूर्ण ध्यान इटहरीको विकासमा केन्द्रित रहेको बताउनुभयो । इटहरी उपमहानगर उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा हुने विकास निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता नहुने बताउनुभयो । उहाँले जनतालाई आफ्नै भवनबाट सेवा प्रदान गर्न वडा कार्यालय भवन निर्माणलाई तीब्रता दिएको बताउनुभयो ।

वडाध्यक्ष चन्द्र भट्टराईले इटहरी ४ मा विकास निर्माण कार्यले तीव्रता पाएको बताउँदै वडा कार्यालय भवन ८६ लाख ४४ हजार ४४४ रुपैयाँको लागतमा निर्माण हुने बताउनुभयो । केहि दिनअघि मात्र वडा नम्वर ८ को वडा कार्यालय भवन शिल्यान्यास गरिएको थियो । वडाध्यक्ष रोहित चौधरीकी आमा सविता चौधरीले प्रदान गर्नुभएको २२ धुर जग्गामा वडा कार्यालय भवन शिल्यान्यास गरिएको हो ।

बिहिबार, १३ फागुन, २०७७, बिहानको १०:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर