विराटनगर । मोरङको रतुवामाई नगरपालिका–३ स्थित चौकीघाटमा सोमबार भएको बस दुर्घटनामा परेर १५ जना यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
चौकीघाटबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ३२७२ नम्बरको बस सडकबाट पल्टिएर दुर्घटनामा परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको एउटा मोटरसाइकललाई बचाउन खोज्दा बस दुर्घटनमा परेको हो ।
दुर्घटनामा बसका यात्रु रतुवामाई–३ का ३१ वर्षीय राजेश सिंह गम्भीर घाइते भएका छन् । सिंहको कम्मरलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको छ ।
दुर्घटनामा परेर रतुवामाई–३ का परमेश्वर पण्डित, अख्नुसिंह गनगाईं, सीतादेवी सिंह, सुस्मिताकुमारी ताजपुरिया, केअनु मियाँ, सगरुन खातुन, सञ्जय झा, रुपादेवी झा, प्रिन्स झा, जितेन्द्र झा, चौँठी ताजपुरिया, शिव साह घाइते भएका छन् ।
त्यस्तै धनपालथान गाउँपालिकाका खजना खातुन र लाडली खातुन पनि घाइते भएका छन् । उनीहरूको रंगेली अस्पताल र स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको छ ।
दुर्घटनापछि बसका चालक धनपालथान गाउँपालिका–५ का ५७ वर्षीय हरिनारायण रायलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।