संसद् पुनःस्थापना नभएसम्म आन्दोलन: नेता मण्डल

विराटनगर । नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका संसद् शिवकुमार मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक र प्रतिगमनकारी भएकोले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्नुभएको छ ।
मोरङको धनपालथान गाउँपालिकामा आयोजित एक कार्यक्रममा सोमबार बोल्दै नेता मण्डलले ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरी असंवैधानिक कदमको सबैले विरोध गरेर संसद् पुनःस्थापना गरिनुपर्ने माग गर्नुभएको हो ।
नेकपा विराटनगर महानगरपालिका इन्चार्जसमेत रहेका नेता मण्डलले ओलीले चालेको असंवैधानिक कदमको सच्याउन माग राख्दै विराटनगरमा माघ १६ गते वृहत् विरोध सभा गर्ने जानकारी दिनुभयो । ‘अहिले ओलीले चालेको कदमको चौतर्फी विरोध भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गर्नुभएको छ । ओलीको गलत कदम न्यायालयले सच्याउनु पर्दछ ।’ संसद् पुनःस्थापना नभएसम्म आन्दोलन जारी रहने पनि उहाँले बताउनुभयो ।
नेता मण्डलले संसद् विघटन गर्ने प्रधानमन्त्रीको प्रस्ताव र त्यसलाई स्वीकृत गर्ने राष्ट्रपति निर्णय असंवैधानिक, लोकतन्त्रविरोधी र व्यवस्थाकै विपक्षमा रहेको बताउनुभयो । ओलीको असंवैधानिक कदमले गैरराजनैतिक चरित्र देखाएको उहाँको भनाइ छ । राष्ट्रप्रमुख र कार्यकारी प्रमुख दुवैले असंवैधानिक र अलोकतान्त्रिक कदम चालेको नेता मण्डलले बताउनुभयो । असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा सबै लागेर दबाब सिर्जना गरेर सच्याउनका निम्ति बाध्य पार्न हरसम्भव प्रयास गरिनुपर्ने उहाँको भनाइ थियो ।

 

सोमबार, ०५ माघ, २०७७, रातीको ०८:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर