विराटनगर । नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाको निर्वाचन प्रकृयानै विवादमा परेको छ । शाखाको चुनाव प्रभावित गर्ने उद्देश्यले अनधिकृत सदस्यहरुको प्रवेश गराइएपछि निर्वाचन विवादमा परेको हो ।
विधान बमोजिम कोशी अञ्चल शाखाको सदस्य हुन नपाउने मापदण्डभित्रका चिकित्सकहरुलाई सदस्यता दिएर चुनाव प्रभावित गर्ने प्रयत्न सार्वजनिक भएपछि निर्वाचन समितिले नै विज्ञप्ति प्रकाशित गरेर निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसक्ने अवस्था सिर्जना भएको जनाएको छ । निर्वाचन समितिले जान अन्जानमा निर्वाचन समितिलाई गुमराहमा पारेर निर्वाचन प्रभावित गर्ने दुषित मनसाय राखेको भन्दै खेद व्यक्त गरेको छ । निर्वाचन समितिलाई शाखाका अध्यक्ष फरवार्ड सिलवालले सदस्यताको गलत विवरण उपलव्ध गराएका कारण विवाद उत्पन्न भएको हो ।
निर्वाचन समितिले कोशी अञ्चल शाखा कार्यकारिणी समितिको निर्वाचनमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शाखामा आवद्ध सदस्यहरुबाहेकका कोशी अञ्चलका अन्य जिल्लाका चिकित्सकहरुले मात्र भाग लिन पाउँछन् । तर, ६६ जना विपिका चिकित्सकहरुलाई विधान विपरित सदस्यता दिएको पाइएको छ । उनीहरुले अघिल्लो वर्ष विपि शाखाकै तर्फबाट मतदात गरेको पुष्टि भइसकेको छ ।
निर्वाचनका लागि प्रकाशित सदस्यहरुको अन्तिम नामावलीमा १२ सय जना सदस्य भनिएपनि करिव २ सय जना अनधिकृत सदस्य भएको भन्दै त्यसको टुंगो नलागेसम्म निर्वाचन हुन नसक्ने भन्दै श्रेष्ठ नेतृत्वको टोलीले विरोध जनाइरहेको छ । उनीहरुले आइतबार बिहानै जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्ने र आवश्यक परे अदालतमा रिट दायर गर्ने तयारीसमेत गरेका छन् ।
कोशी अंचल शाखाबाट धरान लगायत अन्य शाखामा सदस्यता सारेकाहरुलाई पुनः कोशीमै कायम गर्ने प्रयत्न भएको र उनीहरुलाई कोशी शाखामा मतदान गर्ने अधिकार नभएको निर्वाचन समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अनधिकृत रुपमा सदस्यता लिएर चुनाव प्रभावित गर्ने मनशाय राखेका चिकित्सकहरु निर्वाचनमा मतदान गर्न सहभागी नहुने विश्वास गर्दै यदी विधान विपरित निर्वाचनमा मतदानका लागि उपस्थित भए कडा कारवाही गर्ने चेतावनी दिइएको छ ।
लामो समयदेखि एउटै नेतृत्वले हालिमुहाली गरिरहेको नेपाल चिकित्सक संघ कोशी शाखामा यसपटक युवा चिकित्सकहरुले निर्वाचन आफ्नो पक्षमा पार्ने प्रयत्न गरेका छन् । डा. कैलाश श्रेष्ठको नेतृत्वमा युवा पंक्तिका चिकित्सकहरुले यथास्थितिवादी पुरातन नेतृत्व विरुद्ध खरो उत्रिएपछि चुनाव जसरी पनि जित्ने नियतले जथाभावि सदस्य थपेको र अनधिकृत व्यक्तिलाई मतदान गराउने नियत राखेको भन्दै विरोध भएको छ । मतदाता नामावली प्रकाशन गर्दा पुरानो कार्यसमितिले गलत विवरण उपलव्ध गराएका कारण निर्वाचन समिति पनि गुमराहमा परेको थियो ।
निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त डा. नबराज कोइराला, आयुक्तहरु डा. रामकुमार यादव र रवि बस्ताकोटीले संयुक्त विज्ञप्ति जारी गरेर आफुहरुलाई गुमराहमा राखेको भन्दै विरोध जनाएको हो ।
निर्वाचन समितिले नै निर्वाचन निष्पक्ष हुने अवस्था नआएको भन्दै विज्ञप्ति जारी गरेपछि निर्वाचनको विषय अन्यौलमा परेको छ ।