प्रधानमन्त्रीले फाइल चोरी गरेः नेता पाण्डे

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्रीले अदालतमा पेश गरेको फाइल चोरी गरेको आरोप लगाउनु भएको छ ।

मोरङको बेलबारीमा अखिल नेपाल महिला संघ मोरङले आज गरेको कार्यक्रममा बोल्दै पाण्डेले यस्तो आरोप लगाउनु भएको हो । ‘प्रधानमन्त्रीले अदालतमा पेश गरेको फाईल चोरी गर्नुभयो,’ नेता पाण्डेले भन्नुभयो, ‘ओलीको प्रवृत्तीले प्रतिक्रियावादीहरु सलबलाउन थाले ।’

पूर्व अर्थमन्त्री समेत रहनु भएका पाण्डेले ओलीको ओरालो यात्रा तय भइसकेकोले अबको केहि समयमै त्यो यात्रा अन्त्य हुने दाबी गर्नुभयो । पार्टीको बहुमत सदस्य आफूहरुसँग भएकाले नेकपा र सूर्य चिन्ह आफूहरुसँगै रहने दाबी पनि गर्नुभयो । यद्यपि देशभित्र र बाहिर प्रतिक्रियावादीहरुको बोलबाला बढीरहेको र उनीहरुको षड्यन्त्रको शिकार देश हुनसक्नेतर्फ सचेत हुनुपर्ने पनि बताउनु भयो । पाण्डेले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै संसद पुनस्र्थापना हुने दाबी पनि प्रस्तुत गर्नुभयो ।

प्रधानमन्त्री केपि शर्मा ओलीले लोकतन्त्र माथि पुनः प्रहार गरेको आरोप लगाउँदै पाण्डेले पहिला देशमा लोकतन्त्र ल्याउनु पर्छ भन्दा ‘बयल गाढा चढेर अमेरिका पुगिँदैन’ भनेर ओलीले टिप्पणी गरेको स्मरण गर्नुभयो ।

उहाँले धरापमा परेको लोकतन्त्रलाई थाम्नका लागि पुनः एकजुट हुनसमेत सबैलाई आग्रह गर्नुभयो । हिंजो हत्यारा भनेर जिम्मेवारीबिहीन बनाएकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले धमाधम केन्द्रीय सदस्यको जिम्मेवारी दिँदै चोख्याएको आरोप पनि लगाउनु भयो । बालकृष्ण ढुंगेल, कालिबहादुर खाम (विविध) लगायतका नेताहरु प्रति लक्षीत गर्दै नेता पाण्डेले हिंजो हत्यारा भनेर जिम्मेवारीबिहीन बनाइएकाहरु आज आफ्नो लाईनमा आउँदा राम्रो देखेर चोख्याएको दाबी गर्नुभयो ।

शनिबार, ०३ माघ, २०७७, साँझको ०५:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर