विराटनगर । विराटनगर विमानस्थल विस्तार गर्न १२६ बिघा जमिन अधिग्रहणको प्रक्रिया सुरु भएपछि प्रभावित क्षेत्रका सर्वसाधारणले संघर्ष समित गठन गरेका छन् ।
उचित मुआब्जा र क्षतिपूर्तिको पहल गर्नका लागि सोमबार १५ सदस्यीय संघर्ष समिति गठन गरेको स्थानीयले बताएका छन् ।
विराटनगर महानगरपालिका–४ मा रहेको विमानस्थल विस्तार हुँदा करिब ३ सय घर परिवार विस्थापित हुनेछन् । विमानस्थल विस्तारका लागि बाउन्ड्री सर्भे भइसकेको अवस्थामा उचित मुआब्जा र क्षतिपूर्तिका लागि वेदराज पौडेलको संयोजकत्वमा विराटनगर विमानस्थल पीडित संघर्ष समिति गठन भएको हो । समितिमा विनोद भण्डारी, रेवतबहादुर खड्का सन्तोष, उद्धव कार्कीलगायत १५ जना सदस्य छन् ।
संघर्ष समितिका संयोजक पौडेलले विमानस्थलको वरिपरि घर निर्माण गरेर वर्षाैदेखि बसोबास गर्दै आएका सर्वसाधारणलाई उचित क्षतिपूर्तिको पहलका लागि संघर्ष समिति गठन गर्नु परेको बताउनुभयो । विमानस्थल क्षेत्रीय र अन्तराष्ट्रियस्तरकै बन्नुपर्ने पक्षमा आपूmहरु रहेपनि क्षतिपूर्ति न्यायसङ्गत र व्यवहारिक हुनुपर्ने उहाँको भनाइ छ ।
अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण गर्ने लक्ष्य रहेको विमानस्थलका लागि १२६ दशमलव ४६ बिघा जमिन अधिग्रहण गर्ने तयारी छ । विमानस्थल विस्तार हुँदा विराटनगर महानगरपालिकासँगै सुनसरीको बर्जु गाउँपालिकासम्म छुनेछ ।
गत कार्तिक २७ गतेको मन्त्रिपरिषद बैठकले विमानस्थल विस्तारका लागि आवश्यक पर्ने १२६.४६ बिघा जग्गा अधिग्रहण गर्ने स्वीकृति नागरिक उड्डयन प्राधिकरणलाई दिइसकेको छ । विस्तार हुँदा विमानस्थलको धावनमार्गको लम्बाइ २ हजार ५ सय सय मिटर लामो हुनेछ । हालको धावनमार्ग १ हजार ५ सय मिटरको छ ।
विमानस्थल विस्तार गर्न पूर्वतर्फ ७.८३ बिघा, पश्चिमतर्फ ६९.१४ बिघा, उत्तरतर्फ ३५.८१ बिघा र दक्षिणतर्फ ८.८७ बिघा तथा सडकका लागि ३.७० बिघा जग्गा अधिग्रहण हुनेछ ।