लोड हुँदैछ...

मेनु

ट्राफिकको छातीमा ‘गोप्रो क्यामरा’

ट्राफिकको छातीमा ‘गोप्रो क्यामरा’

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले प्रविधिको प्रयोग गरेर सवारी चेकिङ सुरु गरेको छ । ट्राफिक व्यवस्थापनलाई आधुनिक उपकरणको प्रयोग गरि प्रविधिमैत्री बनाउन ‘गोप्रो’ क्यामेराबाट चेकिङको सुरुवात गरेको हो ।

प्रविधिको प्रयोग गर्दै विराटनगमा देखिएको अस्तव्यस्त ट्राफिक व्यवस्थापनलाई सहज बनाउन गोप्रो क्यामारा प्रयोगमा ल्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सोही क्यामेराको निगरानीबाट ट्रापिक नियम उल्लंघन गर्नेहरुलाई कारवाही गरिने बताउनुभयो ।

यस प्रविधिको प्रयोगबाट जथाभावी यात्रु पिक एण्ड ड्रप गर्ने सार्वजनिक सवारी साधन, लेन अनुसारको पालना नगर्ने तथा गलत ओभरटेक गर्ने, तीव्र गतिमा चलाउने, अनाधिकृत रुपमा पार्किङ गर्ने, हर्न बजाउनेलगायत विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरुलाई आवश्यकता अनुसार फोटो तथा भिडियोसहित लिई कारवाही हुने भएकाले प्रभावकारी हुने ट्राफिक प्रमुख खड्काको भनाइ छ ।

स्पटमै क्यामेरा मार्फत श्रव्य दृष्य रेकर्ड हुने भएकाले प्रमाण तुरुन्त देखाउन सकिने उहाँले बताउनुभयो । यो प्रविधिबाट ट्राफिक नियम उल्लंघन गरि भाग्न खोज्ने र भागेकाहरुलाई पछि प्रमाणसहित देखाएर कारवाही र सचेत गराउन सकिनेछ ।

प्रहरीले सो क्यामेरा वेल्डसहित छातीमा लगाएर चेकिङमा खटिनेछन् । अहिले मोरङ ट्राफिकसँग एउटा गोप्रो क्यामरा रहेको छ । ‘अहिले यही एउटा क्याराबाट ट्राफिक प्रहरीले निगरानी गर्न सुरू गरिएको छ,’ उहाँले भन्नुभयो, ‘गल्ती गर्नेको प्रमाण राख्न यो प्रविधि हामीले काठमाडौंबाट ल्याएका हौं ।’

लेन मिच्ने र भाग्ने क्रम बढेपछि ट्राफिक प्रहरीकै छातीमा ‘गोप्रो’ क्यामरा जडान गरेर प्रमाण कैद गर्ने नयाँ रणनीति अपनाएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । लेन मिचेर उल्टै ट्राफिक प्रहरीसँग अपशब्द प्रयोग गर्नेको प्रमाणसहित पुष्टि गर्न अडियो र भिडियोसहितको क्यामरा प्रयोगमा ल्याइएको उहाँले बताउनुभयो । ट्राफिक प्रहरीको अनुसार ‘गोप्रो’ क्यामराले ५ मिटरसम्मको अडियो रेकर्डिङ र लामो दूरीसम्म तस्बिर कैद गर्नेछ । ‘लेन मिच्ने र उल्टै ट्राफिकले त्यतिकै कारबाही गरेको भनेर जिद्दी गर्नेलाई प्रमाणसहित देखाउन नयाँ रणनीति अपनाएका हौं,’ उहाँले भन्नुभयो ।

2 प्रतिक्रियाहरू

2 प्रतिक्रियाहरू

bikram rajbanshi
January 4, 2021 8:19 PM

ramro ho tar katiko lagu huncha herchu

Pradeep pradhan
January 5, 2021 5:43 AM

Dherai ramro kaam ho yo

प्रतिक्रियाहरू बन्द छन्।

This will close in 0 seconds