विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले संसद पुनःस्थापना भएको अवस्थामा पहिलेकै प्रक्रियामा देश जाने बताउनु भएको छ ।
विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा तुम्बाहाम्फेले संसद पुनःस्थापना गर्ने नगर्ने भन्ने विषयमा सर्वोच्च अदालतले निर्णय दिने भएकोले आफूले त्यसबारे धेरै टिप्पणी नगर्ने पनि बताउनु भयो । ‘संसद पुनःस्थापनाबारे अदालतमा विचाराधिन अवस्थामा छ,’ मन्त्री तुम्बाहाम्फेले भन्नुभयो, ‘यस विषयमा म धेरै टिप्पणी गर्दिन । तर, संसद पुनःस्थापना भएको खण्डमा भने पुरानै प्रक्रियामा अनुसार देश चल्छ ।’
संसदमा ६४ प्रतिशत मतसहितको प्रधानमन्त्रीले आफूले काम गर्न नपाएको भन्दै ताजा जनादेशमा जाने भन्दै संसद विघटन गर्नु भनेको अग्रगामि कदम भएको तुम्बाहाम्फेले टिप्पणी गर्नुभयो ।
‘दुईतिहाईको बहुमत पुगेको दललाई सरकार सञ्चालन गर्न दिईएन र अप्ठयारो परिस्थितिको सिर्जना गरियो,’ उहाँले भन्नुभयो, ‘त्यो अप्ठयारोलाई सजिलो बनाउनका निम्त्ति प्रत्यक्ष निर्वाचनमा गएर, ताजा जनादेश ल्याएर बहुमत प्राप्त दलले सरकार सञ्चालन गर्ने आङ्कलन स्वरुप संसद विघटन गरिएको हो ।’
मध्यावधि चुनाव हुने वा नहुने विषयमा जवाफ दिनुहुँदै मन्त्री तुम्बाहाम्फेले प्रतिनिधिसभा विघटन पश्चात आगामी बैशाख १७ र २७ मा हुने भनिएको दुई चरणको चुनावका लागी आर्थिक व्यवस्थापन, सुरक्षा अवस्था र निर्वाचन आयोग तयार रहेको पनि बताउनु भयो ।
‘निर्वाचनका लागि आर्थिक व्यवस्थापन, सुरक्षा संयन्त्र र निर्वाचन आयोग तयार हुनुपर्छ’, मन्त्री तुम्बाहाम्फेले भन्नुभयो, ‘तीनवटै निकाय तयार भएर बसेको अहिलेको अवस्थामा निर्वाचन गर्न कुनै समस्या छैन ।’
यस्तै पार्टी विभाजनमा विदेशी शक्तिको हात नरहेको भन्दै मन्त्री तुम्बाहाम्फेले नेकपा फुट्ने र जुटने बिषयमा कुनै विदेशी शक्तिको आग्रह पूर्वाग्रह काम नलाग्ने स्पष्ट समेत पार्नुभयो । पार्टी अझै नफुटेको र केही थोरी मानिसहरु पार्टी छोडेर गएको उहाँले दाबी पनि गर्नुभयो ।
सरकारले भारतीय पक्षले मिचेको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई वर्तमान सरकारले नै नेपाली नक्सामा समेटेको र संविधान संशोधन मार्फत निशान छाप अद्यावधिक गरेकोले यो ऐतिहासिक उपलब्धी भएको उहाँले जिकिर गर्नुभयो । ‘प्रचण्ड, माधवकुमार नेपाल र शेरबहादुर देउवाको कार्यकालमा त्यो काम हुन सकेन’, उहाँले भन्नुभयो, ‘संविधान संशोधन गरेर निशान छाप अद्यावधिक गर्दा कसैले पनि विरोध गरेन, राष्ट्र र राष्ट्रियताको पक्षमा सबै उभिए । यो पनि सरकारले गरेको महत्वपूर्ण कामको ऐतिहासिक उदाहरण हो ।’
अर्को प्रसंगमा उहाँले वर्तमान सरकार प्रतिनिधिसभा नरहेको अवस्थामा कामचलाउ भइसकेको पनि बताउनु भयो । प्रधानमन्त्री नै संविधान अनुसार कामचलाउ भएको कारण सबै मन्त्रीहरु पनि कामचलाउकै अवस्थामा रहेको उहाँको भनाइ थियो । यद्यपि खाली रहेको मन्त्रालयमा मन्त्री नियुक्ति गर्न भने प्रधानमन्त्रीलाई संवैधानिक अड्चन नरहेको तुम्बाहाम्फेको जिकिर थियो ।