विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले २७ वर्षपछि आफ्नो २७ औं वार्षिकोत्सव आफ्नै सम्पत्ती तथा भवनसहितको कार्यालय परिसर मोरङको सुन्दरहरैंचास्थित गोठगाउँमा सम्पन्न गरेको छ ।
२७ वर्ष अगाडि स्थापना भएको उक्त विश्वविद्यालयको आवश्यक भौतिक संरचना नहुँदा विराटनगरमै केन्द्रीय कार्यालय रहँदै आएको थियो र त्यसखालका कार्यक्रम पनि विराटनगरमै हुँदै आएका थिए । विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा सार्नुपर्ने माग त्यहाँका स्थानीयको प्रमुख एजेण्डा थियो । आफूहरुको उक्त एजेण्डा पूरा भएको भन्दै सुन्दर हरैंचा नगरपालिकाका प्रमुख शिव ढकालले खुसी व्यक्त गर्नुभयो ।
‘सबैको साथ सहयोगबाट विश्वविद्यालय आफ्नै थलोमा फर्किएको छ,’ ढकालले भन्नुभयो, ‘विश्वविद्यालयलाई सहज वातावरण बनाएर विराटनगरबाट गोठगाउँ ल्याउनका लागि वातावरण बनाउने विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालालाई धन्यवाद दिन चाहन्छु ।’
हाम्रोमतसँग सामान्य प्रतिक्रिया दिँदै ढकालले सबै उत्तरी मोरङका स्थानीय खुसी रहेको बताउँदै विश्वविद्यालय आफैं पनि आफ्नो जमिन र सम्पत्तीमै रहन पाउँदा खुसी रहेको आफूले पाएको बताउनु भयो । ‘स्थानीय जनताहरु पनि खुसी साथ आजको कार्यक्रममा सहभागी थिए, विश्वविद्यालय यहाँ ल्याउने भन्ने विषयको हाम्रो राजनीतिक एजेण्डा पनि व्यवहारबाटै पुरा भएको छ,’ ढकालले भन्नुभयो, ‘विश्वविद्यालयले माग गरेका सबैखाले भौतिक संरचनाहरु निर्माण गर्न हामी तयार छौं ।’
नगरपालिकाले गोठगाउँचोकदेखि विश्वविद्यालयसम्मको सडक यसैवर्ष कालोपत्रे गर्ने योजना बनाएको छ । प्रमुख ढकालले ढुक्क भएर काम गर्न विश्वविद्यालयको नेतृत्वलाई आग्रह गर्नुभयो ।
तालाबन्दी संस्कृति बन्द गर्न जोड
प्रदेश १ का आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकासमन्त्री हिक्मतकुमार कार्कीले तालाबन्दी गरेर विश्वविद्यालय बलियो नबने बताउनु भएको छ ।
आज पूर्वाञ्चल विश्वविद्यालयको २७ औं बार्षिकोत्सव समारोहका अवसरमा बोल्दै मन्त्री कार्कीले विभिन्न बहाना बनाएर विश्वविद्यालयलाई आन्दोलनको थलो बनाउने र तालाबन्दी गरेरमात्रै समस्याको समाधान खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनु भएको हो ।
मन्त्री कार्कीले प्राज्ञिक क्षेत्रको थलो मै तालाबन्दी भइरहने कुराले विश्वविद्यालयको साख घटाएको भन्दै कुनैपनि समस्याको समाधान वार्ता र सम्वादबाट गर्न सुझाव दिनुभयो । विश्वविद्यालयभित्रको आन्तरिक खिचातानी र स्वार्थ समुहका कारण २७ बर्षसम्म पनि उचित विकास हुन नसकेको उहाँले गुनासो गर्नुभयो । मन्त्री कार्कीले विश्वविद्यालयभित्र राजनीतिलाई जबरजस्ती प्रवेश गराउने कार्य रोकिए सहि दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
‘विश्वविद्यालयको विकास कछुवाको गतिजस्तो भयो, सँधैभरी स्वार्थहरु बाझिरहे’ उहाँले भन्नुभयो, ‘कतिपय समयमा विश्वविद्यालय भित्रैबाट पनि राजनीतिलाई तान्ने काम हुन्छ, यो रोकिनेमा म आशावादी छु ।’
वार्षिकोत्सव समारोहका अध्यक्ष एवं विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले विश्वविद्यालयलाई राजनीतिकभन्दा प्राज्ञिक थलोका रुपमा मात्रै आफुले हेरेको बताउनु भयो ।
वार्षिकोत्सवका अवसरमा राष्ट्रियसभा सदस्य गोपी अछामी, प्रथम परीक्षा नियन्त्रक कविराज न्यौपाने, स्कुल आफ हेल्थ साइन्सकी क्याम्पस प्रमुख कविता अधिकारी, परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौला, प्राध्यापक संघका सभापति डा.सन्देशदास श्रेष्ठ, कर्मचारी संघका सभापति राजकुमार सापकोटालगायतले शुभकामना दिएका थिए ।
सो अवसरमा विश्वविद्यालयका सहप्राध्यापक तथा प्रथम परीक्षा नियन्त्रक कविराज न्यौपानेलाई दोसल्ला र सम्मान पत्रका साथ विशेष सम्मान गरिएको छ । त्यस्तै विश्वविद्यालयमा २० वर्षे सेवा अवधि पुरा गरेका प्रा.डा. पवनकुमार झा, सहप्राध्यापक रामप्रसाद ढकाल, मुख्य अधिकृत जनकमणि तिम्सिना, अधिकृत पर्वतराज न्यौपाने, मुख्य सहायक निरोद सुवेदी र मुख्य कार्यालय सहयोगी कोपिला खड्कालाई सम्मान गरिएको छ । सोही अवसरमा विश्वविद्यालयका विभिन्न कार्यालय र विभागमा रहेर उत्कृष्ठ काम गर्ने १९ जना कर्मचारी तथा प्राध्यापकहरुलाई उत्कृष्ठ सेवा पदक प्रदान गरिएको छ ।