विराटनगर । विराटनगर–३ स्थित श्रम तथा रोजगार कार्यालय भित्र दुई जना युवा प्रवेश गरेर आइतबार तोडफोड गरिदिएका छन् ।
सुनसरीको दुहवी–८ स्थित अरिहन्त मल्टिफाइबर लि. मा कार्यरत रमेश थापा र सुशिल गच्छदारले कार्यालयमा तोडफोड गरेको श्रम तथा रोजगार कार्यालय विराटनगरले जनाएको छ ।
जुटमिलमा कार्यरत थापा नेपाल कारखाना श्रमिक संघ प्रदेश १ का अध्यक्ष र गच्छदार सुनसरी अध्यक्ष हुन् । उनीहरुले कार्यालय हाताभित्र प्रवेश गरेर पूर्वतर्फको सीसाको झ्यालमा ढुंगाले हानेर फुटाएको श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रमुख वरिष्ठ श्रम अधिकृत प्रेम्प्रसाद सन्जेलले जानकारी दिनुभयो । उहाँले कार्यालयमा तोडफोड गर्नेका विरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङमा गाली बेइज्जती ऐन र सार्वजानिक अपराध ऐन मुताविक कारवाहीको माग गर्दै निवेदन दिनुभएको छ ।
उनीहरुले सरकारी कार्यालय भित्र हुलहुज्जत र गाली बेइज्जती गरेको भन्दै तत्काल पक्राउ गरि कारवाहीको माग गरिएको छ । कार्यालयमा बसेर काम गर्न असुरक्षित भएको भन्दै हतियारसहितको सुरक्षाकर्मीको व्यवस्था मिलाईदिन पनि सञ्जेलले माग राखेका छन् । के कारणले ती युवाले तोडफोड गरे त्यो भने खुलिसकेको छैन ।